लकडाउनपछि साइकल सहर बन्दै; युरोप

एजेन्सी । – कोरोना महामारीपछि विश्वभरि साइकलको महत्व र प्रयोग बढेको छ। सार्वजनिक बस र मेट्रोमा सामाजिक दुरीको कार्यान्वयन भरपर्दो नभएकाले साइकल प्रयोग र पैदलयात्रा प्रोत्साहन गर्ने बृहत् तयारी भइरहेका छन्।

फ्रान्सको पेरिसमा मेयर एना हिडाल्गो आएलगत्तै ७५० किलोमिटर साइकल लेन सुरू गरेकी थिइन्। त्यहाँ मार्च ११ देखि लकडाउन खुल्नुअघि नै दुई करोड युरोको योजना ल्याउँदै साइकललेन र स्ट्यान्डहरू निर्माण गरिएको छ। साइकल मर्मत गर्न पेरिसबासीहरूलाई ५० युरोको खर्च दिइएको छ। साइकल प्रशिक्षणमा पनि खर्च बेहोरिएको छ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको समय साइकलका लागि ‘स्वर्ण युग’ भएको घोषणा गर्दै साढे दुई अर्ब पाउन्डको योजना ल्याए। बेलायतको राजधानी लन्डनका मेयरले सहरलाई साइकलमैत्री बनाउन कतिपय क्षेत्रमा कार र गाडीहरूको प्रवेश निषेध गराए। सहरभरि प्रतिघन्टा ३० किमी गतिभन्दा तीव्र गाडी चलाउन नपाउने नियम ल्याए। साइकललेन र फुटपाथ चौडा पारियो।

युरोपका रोम, बर्लिन, एथेन्स, बार्सिलोना, म्याड्रिड, म्यानचेस्टर, लनशायर, क्याम्ब्रिज, ग्लास्गो, जुरिक, लिस्बन, डब्लिन, कोपनहेगन, सम्पूर्ण डच सहर, स्टकहोम, ओस्लो लगायत र अमेरिकी सहरहरूले पनि लकडाउनपछि साइकल र पैदल यात्रा प्रोत्साहित गर्ने योजना घोषणा गरेका छन्। त्यसैअनुरूप पूर्वाधार विकास भइरहेका छन्।

हामी भने साइकल र पैदल यात्राका लागि यति सुन्दर सहर हुँदाहुँदै त्यसतर्फ उदासीन छौं।

विगतमा धुलोधुवाँले सहर आक्रान्त हुँदा पनि साइकल र पैदल यात्रा प्रोत्साहित गर्ने काम राज्यबाट भएन। यसपालि लकडाउन क्रममा हामीले धुलोधुवाँरहित स्वच्छ सहर अनुभूति गर्न पायौं। लकडाउन सकिएपछि सहरको पुरानो बेथिति दोहोरिन नदिऊँ भन्नेमा कसैको दुईमत छैन। त्यसका लागि चाल्नुपर्ने अपरिहार्य कदमतर्फ कसैको ध्यान भने गएको छैन।

कोरोना महामारीको यो समय सहरलाई प्रदूषणमुक्त राख्न मात्र होइन, भाइरस फैलिनबाट रोक्न पनि साइकल र पैदलयात्रा प्रवर्द्धन नगरी सुख छैन। आगामी दिनमा सार्वजनिक बसको प्रयोग डरमर्दो हुनेछ।

सरकारले जतिसुकै सामाजिक दुरीको कुरा गरे पनि हाम्रा सार्वजनिक बस र माइक्रोहरूमा यात्रुहरूबीच दुरी कायम गर्न सम्भव छैन। यसले लकडाउनपछि नयाँ मोटरसाइकल, स्कुटर, कार र अन्य निजी गाडी थपिन सक्छ। योसँगै वायुप्रदुषण, धुलोधुवाँ र ट्राफिक जामको डरलाग्दो समस्याले काठमाडौं फेरि जेलिनेछ। दुर्घटना र प्रदूषणका कारण बढ्ने रोगको जोखिम त छँदैछ।

यी समस्या सम्बोधन गर्न सरकारले साइकललेन र चौडा फुटपाथ निर्माण गर्नुपर्छ। तर, हामीले यसतर्फ सोचेकै छैनौं।

काठमाडौं उपत्यकामा ११ लाख मोटरसाइकल गुड्छन्। हरेक महिना १० हजार नयाँ मोटरसाइकल थपिन्छन्। त्यस्तै, ४ लाख मोटरगाडी गुड्छन् भने हरेक दिन ३५० वटा थपिन्छन्। प्रदूषण र सहर साँघुरो पार्न कारक मानिने यस्ता सवारीप्रति बढ्दो निर्भरतालाई साधारण दुईपांग्रे यान्त्रिक साधनले हल गर्न सक्छ। यसले हामीलाई शारीरिक रूपले चलायमान राख्नु साथै महामारी बेला एकअर्कासँग दुरी कायम राख्न पनि मद्दत गर्छ।

साइकल प्रवर्द्धन गरौं भनेर हामीले कुनै अद्भूत कुरा उठाएका होइनौं। जनगणना तथ्यांकअनुसार नेपालमा करिब ६० प्रतिशत जनसंख्याले साइकल चलाउन जानेका छन्। तराईमा यो संख्या ८० प्रतिशत छ। यहाँ करिब ३३ प्रतिशत अर्थात् एकतिहाइ घरमा साइकल छन्। जबकि, मोटरसाइकल १० प्रतिशतभन्दा कम घरमा छन् भने गाडी हुने घर संख्या २ प्रतिशतभन्दा कम छ।

तराईमा त घरघरमा साइकल हुन्छ। काममा जान होस्, स्कुल वा बजारमा किनमेल गर्न, धेरैले साइकल नै प्रयोग गर्छन्। कतिपय ठाउँमा साइकलले स्कुल र बजारमा महिलाको पहुँच बढाएको छ। साइकललाई महिला सशक्तीकरणको एक मुख्य आधार पनि मानिन्छ। यति हुँदाहुँदै साइकललाई महत्व नदिनु राज्यको उदेकलाग्दो पक्ष हो।

पछिल्लो समय सहरी क्षेत्रमा बढ्दो मुटुरोग, मधुमेह लगायत कम गर्न पनि साइकल र पैदलयात्रा महत्वपूर्ण हुन्छ। नेडरल्यान्डमा गरिएको एक अध्ययनअनुसार ३० मिनेट साइकल चलाउँदा मुटुरोग, मधुमेह, क्यान्सरको सम्भावना ६०-७० प्रतिशत कम भएको पाइएको छ। विकसित देशहरूले साइकल प्रवर्द्धनमा जोड दिनुको एउटा कारण यो पनि हो।

यति मात्र होइन, कार र मोटरगाडीमुखी नीतिले सडकलाई मानवीय बनाउँदैन। सडकको मानवीयता नागरिककेन्द्रित हुनुमा छ। सडक डिजाइन गर्दा अपांगता भएका व्यक्ति, दृष्टिविहीन, वृद्धवृद्धा, केटाकेटी, पैदलयात्री, साइकलयात्री, व्हिलचेयरयात्री लगायतलाई समेत प्राथमिकतामा राखिनुपर्छ। कार र मोटरगाडीलाई मात्र प्राथमिकता दिएर सडक चौडा पार्नु लोकतान्त्रिक राज्यको उद्देश्य हुनु हुँदैन। हाम्रो राज्य भने त्यही दिशातर्फ उन्मुख छ।

कोटेश्वर-कलंकी रिङरोड डिजाइनमा राखिएको साइकल लेन बन्ने बेला हटाइयो। नेपालकै सबभन्दा चौडा यो सडकमा साइकल लेनलाई प्राथमिकता नदिनु गम्भीर गल्ती हो। सरकारले गल्ती सुधारेर अब बन्ने कलंकी–महाराजगन्ज खण्डमा साइकल लेन र हरितक्षेत्र निर्माण गर्नुपर्छ। कोरोना महामारीले साइकल लेन विस्तारको आवश्यकता बढाएको छ। राज्यले यसको छनक रिङरोडबाट दिनुपर्छ।

माइतीघर–तीनकुने सडकखण्डमा भएको साइकल लेन पनि गलत डिजाइनका कारण सही प्रयोगमा आएको छैन। त्यसलाई पुनर्निर्माण गर्ने उपयुक्त समय यही हो।

एउटा प्रसिद्ध भनाइ छ- लोकतन्त्रको मापन फुटपाथको चौडाइबाट हुन्छ।

अहिलेजस्तो महामारी बेला यो भनाइ अझ सान्दर्भिक ठहरिन्छ। हामीले अब पनि साइकललेन र पैदलमार्गमा जोड नदिने हो भने लकडाउन खुलेपछि त्यस्ता वर्गको मात्र सुरक्षा सुनिश्चित हुनेछ, जसको कार चढ्ने हैसियत छ। जसले सार्वजनिक गाडीको घम्साघम्सी बेहोर्नुपर्दैन।

काठमाडौं उपत्यका सभ्यता र संस्कृतिको सहर हो। विगतमा यहाँका सडक र बाटोघाटो जात्रापर्व चलाउने, रथ कुदाउने र मान्छेलाई पैदल हिँडाउने उद्देश्यले बनाइएका थिए। यहाँका फल्चा, गल्ली, बहाल, इनार र हितिहरू यसैका उदाहरण हुन्।

उपत्यकाको यो सभ्यता र संस्कृतिको गरिमा राख्दै हामीले यहाँ साइकल संस्कृति र पूर्वाधार तयार गर्न सक्छौं। काठमाडौंलाई ‘एसियाकै साइकल सहर’ मा परिणत गर्न सक्छौं।

कोरोना महामारी र लकडाउनले संसारभरि साइकलको महत्व बढाएको छ। हामीले पनि अहिले नगरे कहिले गर्ने?

( रत्नराम श्रेष्ठ – लेखक नेपाल साइकल सोसाइटीका अध्यक्ष हुन् )

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button