भारतमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, एक लाखभन्दा बढी निको

नयाँदिल्ली — भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ । भारत विश्वमा कोरोना भाइरसको उच्च संक्रमण हुने मुलुकहरुको सूचीमा सातौं स्थानमा रहेको छ । भारतमा कारोना भाइरसको नियन्त्रण र रोकथामका लागि गत २६ मार्चदेखि लागू गरिएको लकडाउनलाई पछिल्ला दिनहरुमा क्रमश: खुकुलो बनाउँदै लगिएसँगै संक्रमणको विस्तार पनि उच्च देखिएको छ ।

संक्रमणमा विस्तारसँगै भारतमा हालसम्म संक्रमणबाट पाँच हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । बुधबार बिहानसम्म भारतका संक्रमितको संख्या करिब २ लाख ७ हजार रहेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब एक लाख निको भएका छन् ।

भारतमा आइतबारदेखि लकडाउनलाई निकै खुकुलो बनाइएको छ । लकडाउनका कारण पूरै अर्थव्यवस्था नै जोखिम पर्दै गएपछि ‘कोरोनासँगै जिउने’ रणनीति अपनाइएको हो । त्यही रणनीतिअनुरुप नै संक्रमणको जोखिम रहेका क्षेत्रहरुमा बाहेक सबै किसिमका आर्थिक गतिविधिहरुलाई खुला गरिएको छ । लामो दूरीका रेल सेवादेखि आन्तरिक हवाई उडान पनि सञ्चालनमा आएका छन् । त्यसैगरी राज्यहरुबीच चल्ने यात्रुवाहक बस सेवाहरु पनि सुचारु भएका छन् । यसरी लकडाउन खुकुलो हुनेक्रमसँगै मानिसहरुको आउजाउ बढेका कारण संक्रमण पनि तीव्र रुपमा फैलँदै गएको छ ।

पछिल्ला तिन दिनमा दैनिक आठ हजार जनाका दरले बिरामी थपिएका छन् । गएको चौबीस घण्टामा मात्रै थप करिब नौ हजारमा संक्रमण पुष्टि भएको छ । जुन एक दिनमा थपिएको संक्रमितको संख्यामा अहिलेसम्मको बढी हो । त्यसैगरी गएको एक दिनमा हालसम्मकै सबैभन्दा बढी २१७ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

भारतका ३६ राज्य तथा केन्द्रशासित प्रदेशहरुमध्ये महाराष्ट्र, तमिलनाडु, दिल्ली र गुजरातमा संक्रमण उच्च रहको छ । महाराष्ट्रमा मंगलबार साँझसम्ममा ७० हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यी मध्ये करिब चालीस हजार केस पछिल्लो १६ दिनमै पहिचान भएको हो । र, त्यहाँ दैनिक दुई हजारका दरले नयाँ रोगी पहिचान भइरहेका छन् ।

यता राजधानी दिल्लीको अवस्था पनि दिनहुँ भयावह बन्दै गएको छ । दिल्लीमा हालसम्म २० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने करिब नौहजार जना निको भइसकेको छ । संक्रमण बढ्दै गएपछि दिल्लीले मंगलबारदेखि एक साताका लागि राज्यको सीमा बन्द गरेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार पत्रकार सम्मेलनमार्फत् लकडाउन खुकुलो भएसँगै अन्य राज्यबाट आउनेहरुको संख्या बढ्दै गएको र त्यसले कोरोना भाइरस संक्रमणको जोखिम बढाएको हुँदा तत्कालका लागि सीमा बन्द गरिएको बताएका थिए । उनले अन्य राज्यहरुबाट बिरामीहरुको आएको खण्डमा दिल्लीका जनतालाई स्वास्थ्य सेवा सुविधा अपुग पनि हुने देखिएकाले परीक्षणका रुपमा तत्कालका लागि एक साताका लागि सीमा बन्द गरिएको बताएका छन् । सँगै कोभिड–१९ विरामीहरुका लागि क्वारेन्टाइन र अस्पतालको शय्याको संख्या बढाउने कामलाई पनि तीव्रता दिइएको पनि उनले जानकारी गराएका थिए । यद्यपि केजरीवालको उक्त घोषणालाई लिएर चर्को अलोचना भएको छ ।

लकडाउनका खुकुलो भएसँगै यसअघि संक्रमण न्यून रहेका भारतका पूर्वोत्तर राज्यहरुमा पनि पछिल्लो समय संक्रमण बढ्दै गएको छ । भारतका असम, त्रिपुरा, मणिपुर, अरुणाचललगायतक पूर्वोत्तर राज्यहरुमा पछिल्लो एक सातामा संक्रमणमा उच्च वृद्धि देखिएको छ ।

संक्रमितको संख्यामा वृद्धिसँगै उपचार पछि निको भएर घर फकर्नेहरु पनि बढिरहेका छ्न । हालसम्म दुई लाख संक्रमितहरुमध्ये एक लाखभन्दा बढी उपचारपछि निको पनि भइसकेका छन् । भारत सरकारले पनि अन्य मुलुकको तुलनामा अवस्था चिन्ताजनक नरहेको दाबी गरेको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका सहसचिव लव अग्रवालले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि चालिएका कदमहरु निकै प्रभावकारी भएकाले संक्रमणका हिसाबले अन्य मुलुकको तुलनामा भारत निकै राम्रो रहेको बताएका थिए । त्यसैगरी उनले संक्रमणका कारण हालसम्म मृत्यु भएकाहरुमध्ये प्रत्येक दुईमध्ये एक जना जेष्ठ नागरिक रहेको र त्यसमध्ये ७३ प्रतिशतमा जटिल किसिमका अन्य स्वास्थ्य समस्याहरुको समेत जानकारी गराएका थिए ।

भारतमा सक्रमंण बढ्दै गएपछि परीक्षणलाई पनि तीव्रता दिइएको छ । भारतको आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार दैनिक एक लाख तीस हजारभन्दा बढी दरले परीक्षण हुँदै गएको छ । आईसीएमआरका अनुसार भारतमा हालसम्म ४१ लाखभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । आईसीएमआरले भारतभरका ४७६ सरकार र २०५ प्रयोगशालालाई कोभिड–१९ को परीक्षण गर्ने अनुमति दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button