अभिनेत्री मनीषा कोइराला रुपेन्देहीको सीमा नाका हुँदै नेपाल प्रवेश
काठमाण्डौ / – रुपन्देहीको सीमा नाका भैरहवाको बेलहिया हुँदै चलचित्र अभिनेत्री मनीषा कोइराला मङ्गलबार नेपाल प्रवेश गरेकी छिन् । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाण्डौ प्रस्थान गर्ने बताइएको छ । उनीसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।
भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनका परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘उहाँ बेलहिया नाकाबाट नेपाल आउनुभएको जानकारी पाएको हुँ तर कहाँ बस्नुभएको छ भन्ने जानकारी छैन ।’
नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उनीहरु काठमाण्डौ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरे ।
नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा कोइरालाको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छिन् । (रासस)