पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

पोखरा/
स्वास्थ्य बिमाका लागि प्रथम सेवा विन्दुका रुपमा रहेको पोखरा महानगरपालिका–८ नयाँ बजारस्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको थेगिनसक्नु भीड लाग्ने गरेको छ ।
स्वास्थ्य बिमा गरेका अधिकांश बिरामी उक्त केन्द्रबाट ‘रिफर’ लिएर थप उपचारका लागि पोखराका ठूला अस्पतालमा जाने गरेका छन् । पछिल्लो समय अस्पतालले १५ दिनका लागि मात्र औषधि दिन थालेपछि केन्द्रमा ‘रिफर’ लिन आउने बिरामीको सङ्ख्या झन् बढेको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताउनुभयो ।
सेवाग्राहीको चापअनुसार केन्द्रमा आठ जना मेडिकल अधिकृतसहितका जनशक्ति चाहिने उहाँको भनाइ छ । अहिले तीन जना मेडिकल अधिकृतले त्यहाँ सेवा दिइरहेका छन् । एकैसाथ सेवाग्राहीको भीड हुँदा व्यवस्थापनमा समेत कठिनाइ उत्पन्न भइरहेको प्रमुख सुवेदीको भनाइ छ ।
पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको उक्त केन्द्रलाई केही व्यवस्थित गर्ने प्रयास गरिए पनि सेवाग्राहीको चापका कारण त्यो प्रयाप्त नभएको प्रमुख सुवेदीले बताउनुभयो । केही महिनायता केन्द्रको आन्तरिक सुधार र सेवा विस्तारका काम गरिएको उहाँको भनाइ छ । पुरानो भवन मर्मतसम्भारसहित आवश्यक संरचना थपेर नयाँ व्यवस्थापनका साथ सेवा दिन सुरु गरिएको उहाँले बताउनुभयो ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत विसं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा जनशक्ति र उपकरणको अभाव रहँदै आएको थियो । यसअघि प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन हुँदै आएकामा अहिले त्यसलाई छुट्टाछुट्टै कोठाबाट सञ्चालन गरिएको छ ।
महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधासम्पन्न बनाउन पहल भइरहेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । भौतिक पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई पोखरा महानगरपालिकाकै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउने सकिने सम्भावना देखिन्छ ।
केन्द्रले पछिल्लो समय प्रयोगशाला परीक्षणको रिपोट अनलाइन प्रणालीबाट घरमै हेर्न सकिने सुविधा दिएको छ । बहिरङ्ग सेवा, मनोसामाजिक परामर्शलगायत सेवालाई थप व्यवस्थित बनाउन पहल अगाडि बढाइएको छ । पहिले दमकलको कार्यालय रहेको पुरानो भवनबाट केन्द्र सञ्चालित छ । केही समयअघिसम्म अस्तव्यस्त देखिने उक्त केन्द्रमा गत मङ्सिरदेखि पूर्वाधार व्यवस्थापन र सेवाको गुणस्तर सुधारको काम सुरु गरिएको हो ।
घेरबार नहुँदा केन्द्रको भवन परिसर सवारीसाधन पार्किङ गर्ने, दुव्र्यसनमा फसेका युवा सुत्नेस्थलका रुपमा प्रयोग हुँदै आएकामा अहिले पर्खाल र प्रवेशद्वारा निर्माण गरिएको छ । स्वास्थ्य उपकरण र जनशक्ति थपका लागि महानगर तथा प्रदेश सरकारसँग पहल भइरहेको केन्द्रले जनाएको छ । बिरामीको चापअनुसार केन्द्रमा चिकित्सक र स्वास्थ्यकर्मीको सङ्ख्या अपुग रहेको छ ।
पन्ध्र जनाको दरबन्दी रहेको उक्त केन्द्रमा तीन जना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी र प्राविधिक सेवारत छन् । दरबन्दीअनुसार एक जना जनस्वास्थ्य अधिकृत, फर्मासिस्ट र कविराजको अझै पदपूर्ति हुन सकेको छैन । केन्द्रमा सबैभन्दा बढी नसर्ने रोगका बिरामी आउने गरेका छन् ।