यातायात व्यवसायीका कारुणिक पीडा
अध्यक्ष केसीले लेखे सबैलाई रुवाउने स्टाटस, व्यवसायीलाई दिए यस्तो सुझाव
हरि पन्त
पृथ्वी राजमार्ग बस संचालक कं. प्रा.लि.ले अहिले कै अवस्थामा आफ्ना एक हजार ४०० सवारी साधन चलाउने सोचमा नरहेको जनाएको छ । कम्पनीले सरकारले यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोण हिजो त थिएन अहिलेको विषम अवस्थामा पनि कुनै पनि सभासदले यातायातको शब्द उच्चारण समेत नगर्दा देशभरिका यातायात ब्यवसायी अत्यन्तै दुखी भएको जनाएको छ ।
कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । अध्यक्ष केसी आफ्नो स्टाटसमा लेख्छन्, ‘ठिकै छ उपेक्षा गर्नुस् । हामीले किस्ता रकम तिरिदिन सरकार र माननीयज्यूहरूलाई भनेका थिएनौं । मात्र समय थप गरिदिन भनेका थियौं । तर सरकारका अर्थमन्त्री त बहिरो हुनुभयो । सबै माननीयहरू पनि बहिरो बनेको देख्दा र सुन्दा यो मन धुरुधुरु रोएको छ ।’ उनले प्रश्न पनि गरेका छन्, ‘धन्य छ माननीयहरू, अबको चुनावमा त हाम्रो भोट काम लाग्छ कि लाग्दैन होला ? यो प्रश्न सोध्न त पाईन्छ होला नि । हाम्रा बसले चुनावीसभामा जनतालाई ओसार पसार त गर्नुपर्छ होला नि ।’
अध्यक्ष केसीको थप प्रश्न छ, ‘माननीयज्यूहरू हामी पनि नेपाली हौं । पेशा पो यातायात रोज्न पुग्यौं । के यातायात पेशा नेपालमा गर्नु पाप हो ? के हामी गैर नेपाली हौं र ? अरु उद्योगीले आफ्ना माग उठाउन पाउने र संबोधन पनि हुने । हजुरहरूका जनता यातायात बाहेकका मात्र हुन र ?’ उनले आफूहरूको संवेदनशीलतालाई कतिकति भए पनि बुझिदिन आग्रह गरेका छन् ।
‘कृपया अलिकति त सोच्नुहोस् यी पनि नेपाली नागरिक हुन् भनेर । सोच्दा पाप लाग्दैन होला । यिनको परिवार छ । खान मन लाग्छ होला । ऋण छ होला । लक डाउन भएको पनि करिब तीन महिना भैसक्यो । बैंकले अत्याउन शुरु गरेका छन् । अब कता जाने के गर्ने बेसहारा भएका छन्’, अध्यक्ष केसीको भावुक स्टाटस छ ।
अध्यक्ष केसीले यस्तो अवस्थामा परिवारबाहेक आफ्नो भन्नु कोही नभएको, मन बुझाउने ठाउँ नभएको, अलिकति आशा गर्ने नेताहरू पनि बहिरो भएपछि ऋणको डरले पाँच हातको डोरी किन्न बाध्य हुने चेतावनी दिएका छन् । उनले स्टाटसमा थपेका छन्, ‘ओम नमः स्वाहा । न रहयो बाँस, न बज्यो बासुरी । परिवारलाई भन्दा पिर राजनीतिक दलका नेताजीहरूलाई चिन्ता पर्नेछ । किनकि चुनावको बेला त दाहिने हात नै भाचिएको अनुभव हुनेछ । अनि थोरै मात्र भोटको अन्तरले पराजित हुँदा बल्ल याद हुनेछ । गलत गरिएछ अनि टाउको समात्नु बाहेक विकल्प केहि हुने छैन ।’
अध्यक्ष केसीले सबै व्यबसायीलाई धैर्य गर्न, आत्मवल नगुमाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘साथीहरू धैर्य गरौं । आत्मबल नगुमाऔं । पहिला बचौं अनिमात्र ऋण धनको बारेमा सोचौंला । बैंक तथा वित्तीय संस्थाबाट फोन आउन सक्छ । ढुक्क भएर उत्तर दिनुस्, पर्खनुस् बाचेपछि तिर्छौं । अति नै पेलेछन् भने ताला चाबी कागजपत्र बुझाउनु नै अन्तिम विकल्प हो ।’