पोखरामा आज र भोली फेवा सम्वाद हुने
पोखरा /
पर्यटकीय राजधानी पोखरामा आजदेखी फेवा सम्वाद हुने भएको छ । त्रिभूवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा विहीबार र शुक्रबार पोखरामा फेवा सम्वाद कार्यक्रम हुने भएको हो । पोखराको पर्यटकीय केन्द्र फेवातालको नामबाट राखिएको फेवा सम्वाद कार्यक्रममा ‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’बारे बहस हुने जनाइएको छ । पूर्व राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम पोखरा–६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा हुने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आबद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्धेश्यले फेवा सम्वाद कार्यक्रम गर्न लागिएको त्रिभूवन विश्वविद्यालयका प्रा.डा.खड्क केसीले बताए । उनले सम्मेलन विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुनसक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यमा केन्द्रीत हुने जानकारीसमेत दिए । ‘फेवा सम्वादमार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ’–उनले भने ।
कार्यक्रममा नेपालसहित दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका दिग्गज व्यक्तित्वहरु, विज्ञहरु, अर्थशास्त्रीहरु, थिंक ट्याङ्क तथा राजनीतिज्ञहरुको सहभागिता रहने जनाइएको छ । प्रा.डा.केसीका अनुसार सम्मेलनमा चीनका ३०, नेपालका २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३÷३ जना सहभागी हुनेछन् । त्यस्तै, भुटान, मलेसिया, सिंगापुर, ईण्डोनेसियालगायतका देशबाटसमेत सहभागिता हुने उनले जानकारी दिए । सम्मेलनमा नेपालकी शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री विद्या भट्टराई अधिकारी, पूर्व मन्त्रीहरु कमल थापा, डा.युवराज खतिवडा, प्रदीपकुमार ज्ञवाली, डा.प्रकाशशरण महत,लगायतका राजनीतिज्ञहरु सहभागी हुनेछन् । यसैगरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा.दीपेन्द्रबहादुर क्षेत्री, प्रा.डा.गोविन्दराज पोखरेल, डा.विश्व पौडेल, पूर्व राजदुतहरु, विश्वविद्यालयका प्राध्यापकहरुलगायतको सहभागिता रहने उनले बताए ।