कर सप्ताह अन्तरगत पहिलो दिन प्रभातफेरी आयोजना
पोखरा ।
पोखरामा “कर प्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ सप्ताहव्यापी रुपमा राष्ट्रिय कर दिवस मनाउन सुरु गरिएको छ । आन्तरिक राजस्व कार्यालय पोखराको आयोजनामा राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस मनाउन सुरु गरिएको हो । कर दिवस सप्ताह अन्तरगत पहिलो दिन शनिबार कर प्रभातफेरी निकालिएको थियो ।
पोखरा सभागृह देखि सिर्जनाचोक हुँदै रत्नचोक आन्तरिक राजस्व कार्यालयसम्म प्रभातफेरीसहित राष्ट्रिय कर दिवस २०८१ को शुभकामना आदानप्रदान गरिएको हो । प्रभातफेरी कार्यक्रममा आन्तरिक राजस्व कार्यलय पोखरा, पोखरा उद्योग वाणिज्य संघ, पोखरा चेम्बर्स अफ कमर्स, लेखनाथ उदयोग वाणिज्य संघ, पोखरा भाँडा व्यवसायी संघ, ट्रेकिङ एजेन्सी एसोशसिएसन अफ नेपाल, कर सहयोगी श्रमिक संगठन नेपाल लगायत संघसंस्थाका प्रतिनिधि तथा सदस्यहरु जनचेतामुलक व्यानर र पम्प्लेटसहित उपस्थित थिए । प्रभातफेरी पछि आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यलय पोखराका प्रमुख शिव शर्मा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले बोलेका थिए ।
आन्तरिक राजस्व कार्यलय पोखराले शनिबारदेखि राष्ट्रिय कर दिवस मंसिर ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो । कार्यलयले आइतबार मंसिर २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यसका अलावा मंसिर २ गतेदेखि मंसिर ६ गतेसम्म वस्तुगत सङ्घ सङ्गठनसँग अन्तरक्रिया, कर सम्बन्धी प्रशिक्षण कार्यक्रम र सञ्चार माध्यममा अन्तरसम्वाद कार्यक्रम हुनेछन् ।
मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी राष्ट्रिय कर दिवस समापन कार्यक्रम हुनेछ । आर्थिक ऐन, २०८१ ले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम आयोजना समेत गरिने छ । आन्तरिक राजस्व कार्यलयले राष्ट्रिय कर दिवसको अवसर पारेर करदाताहरुलाई विशेष छुट समेत व्यवस्था गरेको छ ।