पोखरा महानगरपालिकामा जनप्रतिनिधि र कर्मचारीको आन्दोलन, निर्णय सच्याउन माग

पोखरा ।

पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आन्दोलन सुरु गरेका छन् । महानगरको ३७ औँ कार्यपालिका बैठकले गरेका निर्णयप्रति असहमति जनाउदै उनीहरूले आन्दोलन गरेका हुन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल पोखरा महानगर समिति, नेपाल निजामती कर्मचारी सङ्गठन पोखरा महानगर समिति र स्थानीय तह कर्मचारी सङ्घ नेपाल पोखरा महानगर समितिमा आवद्ध कर्मचारीले हातमा कालोपट्टी बाँधेर मङ्गलबार बिहान ११ बजेबाट १२ बजेसम्म एकघण्टा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूको विरोध कार्यक्रममा पोखरा महानगरपालिकामा उपस्थित भएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले समेत साथ दिए । पोखरा महानगरपालिकामा संस्थागत सुशासन कायम गर्न र विधिको शासन कायम गर्न कर्मचारीको माग छ । ३७ औँ नगर कार्यपालिकाले गरेका अवैधानिक निर्णय खारेज गर्न, महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी तुरुन्त कार्यान्वयन गर्न र कर्मचारी माथिको राजनीतिक पूर्वाग्रह र भेदभाव बन्द गर्न उनीहरूको आग्रह छ ।

पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिका शाही योगीले महानगरपालिकामा कति जनशक्ति चाहिन्छ भन्ने यकिन नगरी आफूहरूको उपस्थितिबिना गरिएको निर्णय मान्य नहुने बताइन् ।

उनले पहिला महानगरका ३३ वडा र महाशाखामा कति जनशक्ति चाहिन्छ यकिन गर्नुपर्ने बताइन् । हाल महानगरमा ३ सय ६१ दरबन्दी रहेको भएपनि १ हजार ५८ जना कार्यरत रहेको भन्दै करार हटाउने निर्णय गरिएका २८ जना मात्र नभएर धेरै भएको उनको भनाइ छ। आफूहरू करार मुक्त्त महानगर पालिका बनाउनु पर्छ भन्ने पक्षमा भएपनि पहिला कति कर्मचारी चाहिन्छ यकिन गर्नुपर्ने र निश्चित विधि बनाएर करारमा कार्यरतको व्यवस्थापन गर्नुपर्ने उनले बताइन् ।

पोखरा १५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले सुशासन समितिका संयोजकले छलफल गर्न नचाहेकोले अहिलेको अवस्था आएको बताए । करारका कर्मचारी राख्ने आफूहरूको माग नभएपनि पहिला सङ्गठन तथा व्यवस्थापन (ओ एण्ड एम) बनाउ भन्ने आफूहरूको माग रहेको र यो विषयमा वार्ता भइरहँदाको अवस्थामा एकलौटी निर्णय आएको गुनासो गरे । ओ एण्ड एम पास गरेपछि लोक सेवाबाट माग गर्दै कनिष्टका आधारमा फाल्दै जानुपर्नेमा एकाएक महानगर प्रमुखले एमालेको दललाई बाइपास गरेकोमा उनको आपत्ति थियो । बैठक सञ्चालन ऐनलाई उल्लङ्घन गरिएकोले सो निर्णय अवैधानिक भएको दावी उनले गरे ।

पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष भनेर कल्पना नगरेपनि ३७ औँ कार्यपालिका बैठकले त्यो आभाष गराएको बताए । उनले नेकपा एमालेको उपस्थित बिना भएको निर्णय प्रति घोर आपत्ति रहेको भन्दै यसका विरुद्ध लड्ने चेतावनी दिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तह कर्मचारी सङ्घ नेपाल पोखरा महानगर समितिका अध्यक्ष रेशम जिसीले बिदाको दिनमा एकलौटी ढङ्गले २८ जना प्राविधिक कर्मचारीलाई हटाउने निर्णयको तीनवटै सङ्गठनले घोर भत्सर्ना गर्ने बताए । निर्णय सच्याएर तुरुन्त ती प्राविधिक कर्मचारीलाई काम गर्ने वातावरण बनाउन उनले माग गरे । जिसीले आन्दोलनको कार्यक्रम निरन्तर जारी रहने बताए ।

पोखरा महानगरको कात्तिक १५ गते बसेको ३७ औँ कार्यपालिका बैठकले महानगरमा सेवारत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने निर्णय गरेको थियो । उक्त बैठकमा एमालेका तर्फबाट विजयी वडाध्यक्ष र कार्यपालिका सदस्य अनुपस्थित थिए । कर्मचारी हटाउने निर्णयको विरोधमा कर्मचारी र एमालेका जनप्रतिनिधिले गरेको विरोध कार्यक्रममा झडप तथा तोडफोड समेत भएको थियो । झडपमा महानगरका नगरप्रहरी सई सन्तबहादुर केसी घाइते भएका छन् । अण्डकोषमा चोट लागेका उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button