सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा/

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पुनः १० दिन म्याद थप भएको छ । म्याद थपको लागि मङ्गलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा पेश गरिएको थियो । पौडेलको इजलासले पुनः १० दिनको लागि म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

कार्तिक २ गते पक्राउ परेका लामिछाने माथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर अनुसन्धान भैरहेको छ ।

लामिछानेलाई कास्की जिल्ला अदालतबाट पहिलोपल्ट ६ दिन र दोस्रोपल्ट ७ दिन हिरासतमा राखेरै अनुसन्धान गर्नको लागि म्याद थप भएको थियो । दोस्रोपल्ट थपिएको म्याद कार्तिक १४ गते सम्म थियो । कार्तिक १५ गते म्याद थपको लागि अदालतमा पेश गर्नुपर्ने भएपनि तिहार बिदाका कारण अदालत बन्द हुँदा आज मात्र पेश गरिएको हो । थपिएको म्याद कार्तिक १५ गतेबाट गणना हुनेछ ।

उनीसँगै अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई समेत १० दिनको म्याद थप भएको सूचना अधिकारी अधिकारीले जानकारी दिए । उनीहरू माथिको अनुसन्धान जारी रहेको कास्की प्रहरीको भनाइ छ ।

रास्वपा सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दावी गर्दै विरोध प्रदर्शन गर्दै आएको रास्वपाले मङ्गलबार पोखरामा प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सामान्य झडप र बल प्रयोग समेत भएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button