पाताले छाँगो (डेभिड फल्स) को मूल गेटमा लागेको ताला खुल्यो
पोखरा ।
पोखरा १७ छोरेपाटनमा रहेको पर्यटकीय गन्तव्य पाताले छाँगो (डेभिड फल्स) को मूल गेटमा लागेको ताला खुलेको छ । पोखरा महानगरपालिकाले एक हप्ताको समय मागेपछि शुक्रबार ताला खोलिएको हो ।
त्यहाँबाट हुने आम्दानी पोखरा महानगर पालिकाको खातामा ल्याउने गरि महानगरले बिहीबार साँझ नगर प्रहरी परिचालन गर्ने तयारी गरेपछि स्थानीय र छोरेपाटन माविले ताला लगाएका थिए । विद्यालय र स्थानीयले विद्यालयले भोगचलन गर्दै आएको क्षेत्रहरूलाई ठेक्कामा लगाउन नपाइने उनीहरूले बताएका छन् ।
छोरेपाटन मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारीले महानगरसँग भएको सम्झौताका विषयमा संयुक्त वार्ता गर्नुपर्छ भन्ने स्थानीयको माग हुँदाहुँदै अचानक महानगरका कर्मचारी आएकोले तत्कालको लागि रोक्न ताला लगाउनु परेको बताए । केही समयको म्याद रहेकोले पर्यटकको सुविधालाई ध्यान दिँदै ताला खोलिएको उनले खुलाए ।
अध्यक्ष पहारीले विद्यालयको आवश्यकता हेरेर सर्तहरू राखेर सम्झौता पत्र तयार भएपनि त्यसपश्चात् स्थानीयबाट विद्यालयमा समेत अवरोध भएकोले उनीहरूलाई कन्भिन्स गर्नको लागि वार्ताको आवश्यकता छ भन्ने कुरा सम्बोधन नभएको कारणले दरार देखिएको बताएका छन् ।
महानगरले विद्यालय र स्थानीय सँग छलफल गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । स्थानीय स्रोत साधन महानगरको मातहतमा हुने भन्ने व्यवस्था अनुसार महानगरले सेती क्यानोनिङ प्रालिसँग सम्झौता गरेको थियो । सो सम्झौता पश्चात विद्यालय र स्थानीयले विरोध गरेपछि विद्यालयको आवश्यकता महानगरले पूरा गर्ने प्रस्ताव आएको थियो । त्यसमा व्यापक छलफल गरेर सम्झौता भए पनि सम्झौता पश्चात पुनः विरोध भएको हो । स्थानीयले सम्झौताको सुनिश्चितताका लगायतका कुरा उठाएका छन् ।
तालाको सम्बन्धमा छलफल गर्न हिजो बेलुका र आज बिहान स्थानीय, विद्यालय व्यवस्थापन समितिबीच छलफल भएको थियो । छोरेपाटन माविमा २२ सयको हाराहारीमा विद्यार्थी र १ सय १० को हाराहारीमा शिक्षक कार्यरत रहेको पहारीले जनाए ।