कतारका अमिर आज अपराह्न आउँदै, आज सार्वजनिक बिदा

काठमाडौँ, ११ वैशाख

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ । साथै उहाँको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लाग्नुभएको हो ।

सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा  मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।

सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा  सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ ।

विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवलीकरण, पुनःस्थापना तथा पुनःनिर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button