मिस तामाङ पोखरा शुरु, तामाङ समुदायका १२ युवती सहभागी

पोखरा ।

मिस तामाङ पोखरा–२०२६ औपचारिक रूपमा सुरु भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा सोनाम ल्होसारको अवसरमा हरेक वर्ष मिस तामाङ पोखरा सञ्चालन हुँदै आएको छ । तामाङ समुदायका छोरी–चेलीलाई भाषा, संस्कार र संस्कृति सिकाउँदै उनीहरूको व्यक्तित्व, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम निरन्तर आयोजना गरिँदै आएको समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

मिस तामाङ पोखरा–२०२६ अन्तर्गत सञ्चालन गरिएको तालिम तथा ओरिएन्टेशन कार्यक्रमको उद्घाटन तामाङ भाषाविद् अजितमान तामाङले गरेका थिए । उद्घाटन समारोहमा उनले तामाङ भाषा, संस्कार र सांस्कृतिक पहिचान संरक्षणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण रहेको बताए ।

कार्यक्रमका अवसरमा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखरा सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक चेतना र सामाजिक जिम्मेवारी विकास गर्ने अभियान भएको उल्लेख गरे । उनले भने तामाङ समुदायका छोरी–चेलीले आफ्नो भाषा, पहिचान र संस्कार बुझेर अघि बढून् भन्ने हाम्रो उद्देश्य हो । मिस तामाङ पोखरा समुदायको गौरव र भविष्य निर्माण गर्ने मञ्च हो ।

कार्यक्रम संयोजक रोशिला ब्लोन तामाङले प्रतियोगिता मार्फत युवतीहरूमा आत्मविश्वास, नेतृत्व र सामाजिक चेतना विकास गराउने लक्ष्य रहेको बताए । उनका अनुसार मिस तामाङ पोखराले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो मौलिकता चिन्न र समाजमा सक्षम रूपमा प्रस्तुत हुने अवसर प्रदान गर्दै आएको छ ।

तालिम संयोजक तथा रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तालिमलाई केवल प्रतियोगिताको तयारीमा सीमित नराखी जीवन उपयोगी सीप, बोल्ने कला र सांस्कृतिक ज्ञानमा केन्द्रित गरिएको जानकारी दिए । कार्यक्रममा नेपाल जेसिसका पूर्व अध्यक्ष राजु कसी, नेपाल तामाङ घेदुङका पुर्व केन्द्रिय उपाध्यक्ष अमिर मोक्तान, नेपाल तामाङ घेदुङका गण्डकी उपाध्यक्ष रामबहादुर ब्लोन शिबु, डान्स कोरियोग्राफर राम लामा, कोरियोग्राफर जिता लामा लगायतले बोेलेका थिए । कार्यक्रमको सञ्चालन सुनिता लामाले गरेका थिए ।

मिस तामाङ पोखरामा १२ जना तामाङ समुदायका युवतीहरु सहभागी छन् । जसमा रोज स्याङदेन लामा, कविना घिसिङ तामाङ, सोनी पाख्रिन तामाङ, माया दुम्जन तामाङ, खुसी मोक्तान तामाङ, सुप्रिया गोले तामाङ, सलिना स्याङदेन तामाङ, सोममाया मोक्तान तामाङ, एन्जेल लामा, सुमित्रा तामाङ, खुसी लामा, प्रभा तामाङ रहेका छन् ।

प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित रु १ लाख नगद तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछिन । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्नेछन ।

आयोजकका अनुसार मिस तामाङ पोखरा–२०२६ अन्तर्गत विभिन्न चरणमा भाषा, संस्कृति, व्यक्तित्व विकास र नेतृत्वसम्बन्धी तालिम सञ्चालन गरिनेछ भने ग्रान्ड फिनाले सोनाम ल्होसारको अवसरमा यहि माघ ३ गते शनिबार हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button