राष्ट्रिय ह्याण्डबल प्रतियोगिता सुरु, एपिएफ र आर्मीको सेमीफाइनलको ढोका खुल्यो

पोखरा /
पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता आजबाट सुरु भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा समूह ए बाट एपिएफ क्लब र समूह बी बाट त्रिभुवन आर्मी क्लबले सेमीफाइनलको ढोका खुल्ला गरेका छन् ।
पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा भएको खेलमा समूह ए तर्फ एपिएफले गण्डकीलाई २२–६ र बागमतिलाई ३०–१ गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनाएको हो । बागमतिले मधेश प्रदेशलाई ६–१ ले हराउँदा समूह बि तर्फ आर्मीले लुम्बिनीलाई २६–१३ र कोशीलाई ३७–८ को फाराकिलो गोलअन्तरले हराउँदै सेमीफाइनलको सम्भावना बलियो बनाएको हो । सोही समूहको अर्को खेलमा कर्णालीले लुम्बिनीलाई ६–४ गोलले हराएको छ ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता छ । समूह ए मा एपिएफ, गण्डकी, बागमति र मधेश प्रदेश रहेको छ भने समूह बि मा आर्मी, लुम्बिनी, कोशी र कर्णाली प्रदेश रहेको छ । तीन दिन सम्म चल्ने प्रतियोगिताको विजेताले विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए ।
दक्षिण यसियाली ह्याण्डबल संघका उपाध्यक्ष तेज गुरुङले लामो समयपछी ह्याण्डबल प्रतियोगिताको आयोजना भएको बताए उनले ह्याण्डबलको संघ गठन हुन नसकेको कारण लामो समयदेखी खेल गतिविधि गर्न नसकेको भन्दै ओलम्पिक कमिटी र नेपाल सरकारको विवादका कारब धेरै खेल संघ पीडित भएको समेत सुनाए ।
प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले दशौ खेलकुदले खेल क्षेत्रलाई निरुत्साहित बनाउँदा यस्ता प्रतियोगिताले माहोल बनाउने गरेको बताए । प्रतियोगिता अन्तरगत भोलि लिगचरणका खेल सम्पन्न हुनेछन्।