वातावरण दिवसका अवसरमा पोखरा ४ ले गर्यो वृक्षारोपण कार्यक्रम

सन्तोष बस्याल, पोखरा ।

१७ औँ अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा पोखरामा वृक्षारोपण कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजनामा वडा ३,४ र ९ को संगमस्थल साँघुकोमुख पालिखेचोकमा वृक्षारोपण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिखेचोकबाट राम्रो कार्यको थालनी भएको बताए । उनले पोखरालाई सुन्दर र सफा राख्न टोलटोल वडावडामा पार्कको व्यवस्थापन गुर्नपर्ने उल्लेख गरे । उनका अनुसार वातावरण सफा राख्ने कार्यक्रम गण्डकी प्रदेश सरकार महानगरको साथमा छ । पालिखेचोकमा हुँदै आएको अव्यवस्थित ट्राफिक समस्या सुल्झिएको बताउँदै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशका अरु जिल्ला, नगरपालिका, गाउँपालिका र वडाले समेत महानगर ३, ४ र ९ वडाबाट केही सिक्नुपर्ने बताए ।

‘एक दिन वातावरण दिवसका अवसरमा मात्रै सरसफाई गर्नुभन्दा दैनिक रुपमा सरसफाई गर्नु मुनासिफ हुन्छ’, उनले भने, ‘प्रदेशको राजधानी पोखरालाई सुन्दर बनाउन यहाँका नागरिकमा सरसफाईको चेतना हुनुपर्दछ ।’ घरबाट निस्कने कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गर्न सकेमात्र वातावरणलाई स्वच्छ राख्न सकिने उनले बताए । मुख्यमन्त्री गुरुङले बढ्दो शहरीकरण र सवारीसाधनको प्रयोगले वातावरण प्रदुषण भएको उल्लेख गर्दै यसतर्फ नीति निर्माण गरी प्रदेश सरकार आगाडी बढ्ने प्रतिबद्धता गरे ।

‘पर्यटकीय नगरी पोखराको सुन्दरतानै मनमोहक वातावरण हो । तालहरुको शहर सँगै फुलबारीहरुको शहरको रुपमा समेत विकास गर्नुपर्ने छ । महानगरका प्रत्येक वडामा पार्कको व्यवस्थापन गरिनुपर्छ । यसका लागि पोखरा महानगरपालिकासँग प्रदेश सरकार समन्वय गर्न तयार छ । राम्रा काममा हाम्रो साथ सँधै छ ।’, मुख्यमन्त्री गुरुङले भने ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले  प्रदुषण मुक्त महानगर गराउन वृक्षारोपण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरी हरियाली बढाउन जोड दिने बताए ।  महानगरपालिकाका सडकहरु तथा सिमानामा रहेका गाउँपालिका केन्द्रहरु जोड्ने सडकमा दायाँबायाँ वृक्षरोपण गर्ने कार्यक्रमलाई महानगरले अगाडि बढाउने बताउँदै मेयर जिसीले महानगरपालिका भित्र निर्माण हुने घरको कम्पाउन्ड तथा कौंसीहरुमा हरित बगैँचा निर्माण गर्ने नीति अवलम्बन गरी वतावरणलाई दीगो रुपमा संरक्षण गर्न योगदान पु¥याउँदै बोटानिकल गार्डेनहरुको विकास गरिने बताए ।

वातावरण दिवसको अवसरमा शुभकामना दिँदै मेयर जिसीले कोमागाने पार्क, पुष्पलाल पार्क, वसुन्धारा पार्क, मदन आश्रित पार्क, यशोधरा पार्क, राष्ट्रिय विभूति तथा सहिद पार्क आदिलाई संरक्षण र प्रर्वद्धन गर्दै लगिने बताए । ठूलोकाटे, रानीवनलाई जैविक विविधतमा संरक्षणका केन्द्र बनाई प्राकृतिक चिडियाखनाको रुपमा विकास गर्दै पञ्चासे लेकलाई सुनगाभा संरक्षण क्षेत्रका रुपमा घोषणा गरी संरक्षण गर्ने महानगरको योजना छ ।

पोखरा ४ का अध्यक्ष शंकर बास्तोलाले वडा ३, ४ र ९ को संगमस्थल साँघुको मुख पालिखेचोकको व्यवस्थापन गर्न सहज गराउने स्थानिय क्लब, संस्था र व्यक्तिलाई धन्यवाद दिए । उनले पालिखेचोकमा विगतमा देखिएको ट्राफिक जामको समस्या हाल समाधान भएको जानकारी गराए । संगमस्थलको सौन्दर्यताका लागि पार्कको स्थापना गरी त्यसको व्यवस्थापनमा वडा ४ सक्रिय रहेको उनले उल्लेख गरे । वडाध्यक्ष बास्तोलाले वातावरण मैत्री विकासमा महानगरको सहयोग अपेक्षा गर्दै नागरिकलाई सरसफाईमा केन्द्रित रहन आग्रह गरे । उनले महानगरले वातावरणमैत्री कुरा कागजमा मात्रै नभई व्यवहारमा समेत लागु गर्नुपर्ने उल्लेख गरे ।

बुँदागत रुपमा हामी यो गर्छौ त्यो गर्छौ भन्ने तर नगर्ने प्रवृतिले समस्या आएको उनको भनाइ थियो । कार्यक्रमको महानगरपालिकाकि उपमेयर मञ्जुदेवी गुरुङ लगायत पोखरा महानगर वडा ३,९ र ११ का वडाध्यक्षहरुको उपस्थिति थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button