सवारी साधनको सञ्चालनमा आएका अवरोधप्रति पोखरा पर्यटन परिषद्ले गम्भीर ध्यानाकर्षण

पोखरा /

पोखरा र गण्डकी प्रदेशमा पर्यटक सवारी साधनको सञ्चालनमा आएका अवरोधप्रति पोखरा पर्यटन परिषद्ले गम्भीर ध्यानाकर्षण गराएको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीद्वारा जारी विज्ञप्तिमा यस्ता अवरोधले गण्डकी प्रदेशको समग्र पर्यटन क्षेत्रमा प्रतिकूल असर पार्ने र आन्तरिक तथा बाहृय पर्यटकबीच नकारात्मक सन्देश प्रवाह हुने खतरा बढेको उल्लेख छ । पर्यटन नेपालको समृद्धिको एक मुख्य आधार भएकाले यस क्षेत्रको व्यवस्थापन र सुरक्षामा सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको विज्ञप्तिमा बताइएको छ ।

‘बन्द नै समाधान होइन,’ परिषद्ले स्पष्ट गरेको छ । अघिल्ला बन्द–हडतालको समयमा पनि पर्यटक सवारी साधन निर्वाध रूपमा सञ्चालन हुँदै आएका उदाहरण दिँदै परिषद्ले अहिले पनि यस्ता साधनलाई अवरोधरहित सञ्चालन गर्न वातावरण निर्माण गर्न माग गरेको छ ।

परिषद्ले सार्वजनिक यातायात बचाऊँ संघर्ष समिति र सबै सरोकारवाला निकायलाई सम्बोधन गर्दै पर्यटनमैत्री वातावरण निर्माणका लागि आग्रह गरेको छ । साथै, परिषद्ले शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माणका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ ।

गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात अवरुद्धका कारण यात्रु तथा पर्यटकले भोग्नुपरेको असहज अवस्थाप्रति होटल संघ पोखरा नेपालले गहिरो चिन्ता व्यक्त गर्दै वार्ताबाट समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायीबीच संवादमार्फत सहमति खोजी यातायात सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न आग्रह गरिएको छ । ‘जसका–जसका माग छन्, ती वार्ताबाट समाधान होऊन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तर सार्वजनिक सेवा बन्द गर्नु कुनै दीगो समाधान होइन ।’ संघले लामो समयदेखि पर्यटन क्षेत्र बन्द र हड्तालको प्रतिकूलताबाट प्रभावित हुँदै आएको स्मरण गराउँदै यस्ता गतिविधिले नेपाल र पोखराको पर्यटन छवि धुमिल हुने चिन्ता व्यक्त गरेको छ ।

अहिले पोखरा ‘पर्यटन वर्ष २०२५’ मनाइरहेको र अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं वर्षगाँठ मनाउन तयारी भइरहेको बेला यातायात सेवाको अवरोधले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जान सक्नेतर्फ संघले ध्यानाकर्षण गराएको छ । ‘यो समस्या समाधानको एउटै बाटो छ– वार्ता,’ होटल संघ अध्यक्ष सुवेदीले भने, ‘पर्यटनमैत्री वातावरण निर्माणमा सबैले सकारात्मक भूमिका खेल्नुपर्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button