सरकारले ल्यायो १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाण्डौ /
सरकारले आउँदो आर्थिक वर्ष २०८२÷८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । उपप्रधान एवम्अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको आय–व्ययको अनुमान पेश गर्नुभएको हो ।
आउँदो आर्थिक वर्षको बजेटमा चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २० दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थापमा ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव १ प्रतिशत विनियोजन भएको छ ।
आउँदो आर्थिक वर्षको व्ययको अनुमान चालू आर्थिक वर्षको विनियोजनको तुलनामा ५ दशमलव ६ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव २ प्रतिशतले बढी हो । कुल विनियोजनमा प्रदेश र पालिकाका लागि वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रुपैयाँ उठाइने अनुमान गरिएको छ । बाँकी ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ बराबर न्यून हुनेछ । त्यसका लागि आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब र बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ व्यहोरिने अर्थमन्त्री पौडेलले बताउनुभयो ।
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार पुग्यो
सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढाई महँगी भत्ता बढाएको छ । अर्थमन्त्री ु पौडेलले संसद्मा बजेट पेश गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो ।
अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी भत्ता ५ हजार रुपैयाँ पु¥याइएको बाताउनुभयो । बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत २ हजार रुपैयाँ र वार्षिक रूपमा पोसाक भत्ता १० हजार रुपैयाँ पाउँदै आएका छन् । त्यसअनुसार ३ हजार रुपैयाँ भत्ता थपिएको हो ।
पछिल्लो पटक तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९÷८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाउनुभएको थियो ।
त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाउन ४ अर्ब १५ करोड
अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो यात्रुचापलाई व्यवस्थापन गर्न क्षमता विस्तार गरी बुटिक विमानस्थलमा विकास गरिने बताएका छन् । २०७६ सालको नीति तथा कार्यक्रममा पनि यही विषय समेटिएको थियो ।
त्यति बेला संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक परम्परा र संस्कृति झल्किने गरी विमानस्थललाई ’बुटिक’ अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने बताएकी थिइन् । २०७५ पुसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुटिक विमानस्थल बनाउने विषयमा काम थालेको थियो ।
एसियाली विकास बैंकको आर्थिक सहयोग लिई २०४५ सालमा निर्माण सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खेतबारीमा हुने गरा शैलीमा बनाइएको छ । काठमाडौं आसपासका खेतका गराबाट प्रभावित भई यसको डिजाइन दुई जर्मन र जापानी इन्जिनियरले गरेका थिए ।
अर्थमन्त्री पौडेलले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा विकास गर्न ४ अर्ब १५ करोड विनियोजन गरिएको बताएका छन् । बजेटमा आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाइ उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिने पनि उल्लेख गरिएको छ ।
आन्तरिक हवाइयात्रालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबमा विकास गरिने अर्थमन्त्री पौडेलको भनाइ छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई भने पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन आवश्यक सुविधा उपलब्ध गराइने पनि पौडेलले बताए ।



