पश्चिमाञ्चल माविद्वारा ‘सौन्दर्यकता’ तालिम

पोखरा/

सौन्दर्यकलाको सीप दिलाउनका लागि म्याग्दीको बेनीमा ‘स्किन केयर तथा सेल्फ मेकअप’ सम्बन्धि निशुल्क तालिम सुरु गरिएको छ । पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविले आयोजना गरेको उक्त तालिम एकसातासम्म संचालन हुनेछ ।

प्रशिक्षणमा म्याग्दीका विभिन्न विद्यालयबाट यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका छात्राहरु सहभागि रहेको विद्यालयका प्राचार्य सरोज कोइरालाले जानकारी दिए । प्रशिक्षणको प्रमुख अतिथि सौन्दर्यकला व्यावसायी संघकी केन्द्रीय उपाध्यक्ष सोनम गुरुङले उद्घाटन गरेकी थिईन । प्रशिक्षणमा ३० जना छात्राहरु सहभागि छन् ।

प्राचार्य कोइरालाका अनुसार एकसाताको यो प्रशिक्षणमा छात्राहरुले सौन्दर्यकला सम्बन्धि आधारभूत सीप हासिल गर्नेछन् । ‘एकसाताको प्रशिक्षणले कम्तिमा उनीहरुमा सेल्फ मेकअफबारे ज्ञान हासिल गर्नेछन,’ उनले भने । विद्यालयले अघिल्लो वर्ष पनि पोखरामा यस्तै प्रशिक्षण दिएको थियो ।

पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले सौन्दर्यकलाको माध्यमबाट युवापुस्तालाई स्वरोजगार बनाउने प्रयास थालेको बताए । ‘अहिले सहरमा मात्र नभई विदेशमा पनि सौन्दर्यकलाको उत्तिकै माग रहेको छ । विदेश जाने धेरै युवापुस्ताले सौन्दर्यकला सिकेर जाने गरेका छन,’ उनले भने, ‘विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रशिक्षण दिएको हो ।’

प्रमुख अतिथि गुरुङले सौन्दर्यकलासम्बन्धि सीपले विषेशगरि युवतीहरुलाई स्वरोजगार बन्न प्रेरित बन्ने बताईन । ‘सौन्दर्यकलाको सीप जानेपछि जो कोही बेरोजगार बस्नुपर्दैन । कम लगानीमा स्वरोजगार बन्ने बाटो पनि खुल्छ,’ उनले भने, ‘आम्दानीका लागि अरुको भर पर्नुपर्दैन । सौन्दर्यकलाको सीपले विदेशमा झनै बढी आम्दानी दिलाएको छ ।’

सौन्दर्यकला व्यावसायी संघकी म्याग्दीकी अध्यक्ष गंगा थापा कार्कीले सौन्दर्यकलाको सीप भएमा बेरोजगार बन्नु नपर्ने बताईन । ‘सहरमा मात्र नभई सौन्दर्यकलाको माग अहिले गाउँमा पनि छ । यसले युवतीलाई आत्मनिर्भर बनाउन सघाउने भएकोले भविश्य उज्जवल छ,’ उनले भनिन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button