पानी माग्दै होटल सङ्घ पोखराको टोली खानेपानी संस्थानमा

पोखरा ।

पोखरेलीलाई सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घ पोखरा नेपालले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ ।सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा सङ्घको एक टोली सोमबार नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानी जस्तो मानव जीवनका लागि आधारभूत आवश्यकताको सहज परिपूर्तिका लागि संस्थान गम्भीर बन्न ध्यानाकर्षण गराएको थियो । सङ्घको टोलीले कार्यालय प्रमुख सहायक प्रबन्धक इन्जिनियर आशिष कार्कीको कार्यकक्षमा पुगी पर्यटन क्षेत्रले भोग्नु परेको पानी सम्बन्धी समस्या अवगत गराएको थियो ।

सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानीमा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा नै मार परेको अवगत गराए । पर्यटकको बढी चहलपहल हुने लेकसाइड र ड्यामसाइड जस्ता क्षेत्रमा खानेपानी प्राप्तिमा कठिनाइ हुनु दुःखद भएको भन्दै उनले यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जानसक्नेतर्फ सचेत हुनुपर्ने भनाई राखे ।

संस्थानलाई सङ्घले प्रदान गरेको पत्रमा भनिएको छ, पर्यटनको राजधानी पोखरामा रहेका होटल एवम् अन्य व्यवसायीहरूले सुक्खायामसँगै आवश्यकता अनुसार खानेपानीको उपयोग गर्न पाइरहेको अवस्था छैन । होटल तथा पर्यटन व्यवसायीहरूले दैनिक जसो बोरिङको पानी खरिद गरी पाहुनाहरूलाई सेवा दिन पर्ने वाध्यात्मक परिस्थिति रहेको हुँदा पर्यटनको राजधानी पोखरा र पर्यटकहरूको आवासीय क्षेत्र लेकसाइड, ड्यामसाइडमा नियमित रुपमा खानेपानीको व्यवस्था मिलाई दिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचनले पोखरा भ्रमण वर्षमा नै पानीको समस्या हुनु दुःखद भएको बताए । सङ्घका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले लेकसाइड जस्तो संवेदनशिल क्षेत्रमा हप्ता बिराएर खानेपानी आपूर्ति हुँदा निकै समस्या परेको बताए । अर्का उपाध्यक्ष गणेशराज पहारीले जाइकाको सहयोगपछि पनि पोखरामा पानी आपूर्तिमा समस्या हुनु दुःखद भएको बताए । सङ्घका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रमेशले खानेपानीसम्बन्धी संस्थानको ठोस प्रतिवद्धता जरुरी भएको भन्दै अहिले उपभोक्ताले पानीविनाको पैसा तिर्नु परेको दुःखेसो पोखे ।

संस्थान प्रमुख कार्कीले सन् २०१५ तिरको पुरानो योजना अनुसार अघि बढेको प्रोजेक्ट भएका कारण जाइकाले ल्याएको पानीले पनि पोखरेलीको खानेपानी आवश्यकता पूरा गर्न नसकिएको स्वीकारे । चुहावट र चोरी पानीको अर्को समस्या भएको उनले सुनाए । उपभोक्तालाई चाहेजति पानी दिन पाए आफूहरूको पनि आम्दानी बढ्ने उनले सुनाए । सङ्घले सहज पानी आपूर्तिका लागि सक्दो प्रयास अघि बढाउने प्रतिवद्धता उनले सुनाए ।

पोखरेलीलाई प्रशोधित पानी पु¥याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपाल सरकारलाई हप्तान्तरण गरिसकेको छ । यो आयोजना बनाउन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँमा लगानी भएको छ । आयोजना अन्तर्गत दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक ८ करोड लिटर भन्दा बढी पानीको माग छ । पोखराको मुख्य पानीको श्रोत मर्दिखोला हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button