आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व हो : मन्त्री थापा

पोखरा ।

गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आत्महत्या रोकथाम सामूहिक उत्तरदायित्व भएको बताएका छन् । मन्त्रालय र ‘कोशिश’ संस्थाको सहकार्यमा “आत्महत्या रोकथाम सम्बन्धी प्रदेशस्तरीय छलफल कार्यक्रम” मा बोल्दै उनले आत्महत्या रोकथामसँग सम्बन्धित नीति, कार्यक्रम तथा सेवाहरूको गहिरो समीक्षा गरिनुका साथै सुधारका पक्षहरू पहिचान गरिनुपर्ने उल्लेख गरे ।

“आत्महत्या रोकथाम कुनै एक निकायको जिम्मेवारी मात्र होइन। सकारात्मक सोच, सहकार्य र समाधानमुखी पहलबाट मात्रै हामीले आत्महत्याका घटनालाई न्यूनीकरण गर्न सक्छौं।”, उनले भने ।

मन्त्री थापाले आत्महत्या बढ्नुको प्रमुख कारणहरूमा असुरक्षित वैदेशिक रोजगारी, बेरोजगारी, आर्थिक कठिनाई, मानसिक स्वास्थ्य समस्या जस्ता विषयहरूलाई औंल्याए । उनका अनुसार यस्ता समस्याको समाधान सामूहिक प्रयासबाट मात्र सम्भव छ।
विद्यालयमा मनोसामाजिक परामर्शदाताको व्यवस्था, युवाहरूलाई सीप विकास तालिममार्फत रोजगारीको अवसर, सचेतनामूलक कार्यक्रमहरूको विस्तार तथा मानसिक स्वास्थ्यको संरक्षणजस्ता गण्डकी प्रदेश सरकारको पहलहरूलाई थप प्रभावकारी बनाउन सबैको सहयोग अपरिहार्य रहेको उनले बताए ।

“सबल प्रदेश, स्वस्थ नागरिक र समावेशी समाज निर्माण हाम्रो लक्ष्य हो ।”, उनले भने । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक महेन्द्र खड्काले गण्डकी प्रदेशमा आत्महत्याको अवस्थाका बारेमा चर्चा गरेका थिए भने गण्डकी प्रदेशको सामाजिक विकास,युवा तथा खेलकुद मन्त्रालयकी उपसचिव मुना अधिकारीले आत्महत्या रोकथाम सम्बन्धी नीति, कार्यक्रम र यसको स्थितिका बारेमा जानकारी गराइन् । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरूबीच भविष्यका लागि स्पष्ट कार्यदिशा तय गर्नेसम्बन्धी छलफलसमेत गरिएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button