फेवा महोत्सवमा दर्शक उपस्थिति भव्य रहने

पोखरा।
होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् ।
यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे विचको सडकमा महोत्सव आयोजना हुने छ । महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै सम्पन्न बैठकमा संघ अन्तर्गतका सदस्य, प्रतिष्ठानका कर्मचारीहरु र आमा समूह तथा पर्यटकीय संघसंस्थाका व्यक्तित्वहरु संलग्न विशाल र्याली निकाली महोत्सवको उद्घाटन गरिने विषयमा चर्चा गरिएको थियो ।
महोत्सवका मूल संयोजक एवं आयोजक संघकाअ अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै महोत्सवको अवसरमा निकालिने र्याली तथा झाँकी विशेष रहने जानकारी दिए । लेकसाइडका सडकका विभिन्न ठाउँमा सांस्कृतिक नाचहरु हरेक दिन प्रदर्शन गरिने जानकारी पनि उनले दिए ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने संघले जनाएको छ । महोत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने जानकारी यसअघि नै दिइसकेको छ ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । व्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने छन् ।
फेवा महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा।ली, सह प्रायोजक वरुण वेभरेज लि।को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केवलकार लि। फोन पे, अन्नपुर्ण केवलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकका रहने कार्यक्रममा जानकारी गराइयो ।
सो अवसरमा संघको २० औं अधिवेशनबाट निर्वाचित भई २०८१ सालको कात्तिक ७ गतेसम्म सक्रिय समितिका पदाधिकारीहरुलाई प्रशंशापत्र प्रदान गरिएको थियो । यसअघि सम्पन्न संघका महोत्सव र कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सघाउ पुर्याउने एरिया संयोजकहरुलाई पनि सो अवसरमा मायाको चिनो प्रदान गरियो ।
संघका निवर्तमान अध्यक्ष विकल तुलाचन, संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजकद्वय दीपक श्रेष्ठ र गणेशराज पहारीले पनि सो अवसरमा भनाई राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।