‘भिरको फूल’ लिएर आइन् मुक्तककार सरु

पोखरा ।
युवा मुक्तककार सरला लामिछाने ‘सरु’ पहिलो मुक्तक संग्रह भिरको फूल शनिबार विमोचन गरिएको छ ।
मुक्तक मञ्च केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्त, लोकगायिका हरिदेवी कोइराला र कवि रमेश श्रेष्ठले सो कृतिको विमोचन गरे ।
मुक्तक मञ्चले प्रकाशन गरेको कृतिमा १ सय ४१ मुक्तक संग्रहित छन् ।
कार्यक्रममा साहित्यकार सरु भक्तले नेपालमा मुक्तक र पोखरा एक अर्कामा पर्यायवाची भएको बताए । २०३५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारले टिकटमा मुक्तक कार्यक्रम गरेको उनले उल्लेख गरे । ‘त्यति बेला साहित्य विधामा मुक्तकलाई कम ध्यान दिएको अवस्था थियो,’उनले भने, ‘कार्यक्रम पछि ठुला ठुला लेखकले मुक्तक लेखनको महत्व बुझेर लेख्न थालेका थिए ।’ उनले २०१० सालमा भीमदर्शन रोकाले रुवाई शैलीबाट मुक्तक लेखेको स्मरण गरे ।
पछिल्लो समयमा संस्कृतबाट आएको नविन परम्परालाई पछ्याएर मुक्तक लेख्ने परिपाटीको विकास भएको जानकारी दिदै उनले सरु लामिछानेले समेत सोही शैलीमा मुक्तक लेखेको बताए । लोक गायिका कोइरालाले नेपाली साहित्य विधामा मुक्तक लोकप्रिय बन्दै गएको टिप्पणी गरिन् । उनले महिलालाई वर्तमान सामाजिक बन्धनलाई तोडेर कृति सिर्जना गर्न चुनौतीपूर्ण रहेको बताइन् । कवि श्रेष्ठले कविता र मुक्तकले कृतिकारको बाँकी जीवनलाई अगुवाई गर्ने उल्लेख गरे ।
लेखक लामिछानेले हेर्न सकिने र सुगन्ध लिन नसकिने भिरको फुल कसैले टिप्न नसक्ने बताइन् । उनले कृति प्रकाशन गर्दा समेत अझै पनि गहन रुपमा लेख्न नसकेको अनुभूत भएको सुनाइन् । कार्यक्रममा साहित्यकार शिव संकल्प र लक्ष्मी थापाले मुक्तक संग्रहको समीक्षा गरे । मुक्तककार, अनिता दाहाल, केआर ढकाल, भरतराज पौडेल, सञ्जय न्यौपाने ‘प्राञ्जल’ले मुक्तक संग्रहको रचना वाचन गरे ।