पोखरामा हुने ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सव’को तयारी पुरा, चलायमान अर्थतन्त्रको आधारशिला बनाउने लक्ष्य

पोखरा ।
३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आईटी महोत्सव’को तयारी पुरा भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा माघ १० गतेदेखि सुरु हुने मेलामा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोबाइल एक्सपो २०२५ पनि समावेश गरिने मङ्गलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको छ ।
सङ्घका अध्यक्ष तथा मेला कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले यसपटकको मेलालाई पृथक र चलायमान अर्थतन्त्रको आधारशिला बनाउने लक्ष्य राखिएको बताए । मेलाले राष्ट्रियस्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि, र हस्तकलाका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।
पोखरामा २०४२ सालमा पहिलोपटक व्यवस्थित रूपमा मेला आयोजना भएको स्मरण गर्दै कार्कीले मेला र महोत्सवले आर्थिक गतिविधि बढाउने, रोजगार सिर्जना गर्ने, र अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख गरे । उनले ३३ औं संस्करणको मेलामा नेपालका सातै प्रदेशका मौलिक उत्पादन, संस्कृति, र रैथाने परिकारलाई समावेश गरी निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावना खोज्ने प्रयास गरिने जानकारी दिए ।
मेलामा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कारहरू, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ । मोबाइल वितरक संघ, गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोबाइल एक्सपो अन्तर्गत मोबाइलहरूमा ५० प्रतिशतसम्म छुटमा खरिदको व्यवस्थासहित एक्सचेन्ज अफर, किस्तामा मोबाइल फोन खरिदको सुविधा,एसोसरिजहरुको बिक्री प्रबन्ध तथा हरेक दिन ५ वटा मोबाइल डोर प्राइजको रुपमा वितरणको व्यवस्था गरिएको मोबाइल वितरक संघ, गण्डकीका अध्यक्ष मनोहर प्रसाद श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले मोबाइलका ब्रान्डहरूको प्रमोसन गर्नको लागि एक्सपो आयोजना गरिएको खुलाए । केही नयाँ मोबाइलका ब्रान्डको लन्चिङ कार्यक्रम समेत गर्न लागिएको उनले जनाए ।
क्यान कास्कीसँगको सहकार्यमा मेलामा हुने १२ औं क्यान इन्फोटेक २०२५ अन्तर्गत सूचना प्रविधि क्षेत्रमा पछिल्लो पटक आएका नूतन आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावना सहित सफ्टवेयर निर्माण एवं यसको बजारलगायतका विषयको प्रदर्शनी रहने क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले जानकारी दिए ।
मेलामा औद्योगिक उत्पादन, कृषि जन्य वस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, र पर्यटन प्रवद्र्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । मेलामा देशका अन्य प्रदेशबाट असल अभ्यासहरूलाई समावेश गरी गण्डकी प्रदेशमा लगानी आकर्षित गर्ने उद्देश्य पनि राखिएको छ । यसका अलावा आइटीसँग सम्बन्धी खेल र प्रतियोगिता पनि महोत्सवको आकर्षण बन्ने बताइएको छ ।
मेलामा सहभागी हुन न्यूनतम ५० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ भने ज्येष्ठ नागरिक, अपांता भएका व्यक्ति, राष्ट्रसेवक सुरक्षाकर्मी, र विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले मेलाको आयोजना गैरनाफामूलक भएको स्पष्ट पार्दै यसलाई भव्य र सभ्य बनाउन सबैको साथ आवश्यक रहेको बताए । मेलाले औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने विश्वास उनले व्यक्त गरे ।
आयोजक पोखरा उद्योग वाणिज्य संघले यस महोत्सवलाई आर्थिक गतिविधि र नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखेको महासचिव शोभा गौतमले बताइन् । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पनि बोलेका थिए ।
माघ २१ गतेसम्म सञ्चालन हुने मेलाको नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश संरक्षक रहेका छन् । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको आयोजकले जनाए ।