पोखराका सहिदचोकमा प्रहरीले बनाउन लागेको पेट्रोल पम्पको निर्माण रोक्न परेको रिट खारेज
पोखरा ।
पोखरामा प्रहरी प्रधान कार्यालयले सञ्चालन गर्न लागेको पेट्रोल पम्पको निर्माण कार्य रोक्न परेको रिट उच्च अदालत पोखराले खारेज गरेको छ ।
मंगलबार उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश उमेश कोइरालाको संयुक्त इजलासले पेट्रोल पम्प नबनाउन परेको रिट खारेज गरिदिएका हुन् । यसअघि असोज १० तत्काल पेट्रोल पम्प नबनाउन अन्तरिम आदेश जारी भएको थियो ।
न्यायाधीश राजुकुमार खतिवडाको इजलासले अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएका थिए । आदेशमा किन पेट्रोल पम्प नबनाउनुपर्ने हो कारण खुलाई अदालत उपस्थित हुन भनिएको थियो ।
पोखरा महानगर–७ पार्दीस्थित प्रहरीले पेट्रोल पम्प बनाउन थालेपछि स्थानीय अभियन्ता अदालत पुगेका थिए । नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलसहित गोकुल कार्की, दुर्गाकुमारी काकी र शोभाकुमारी श्रेष्ठ र रामचन्द्र विश्वकर्माले पेट्रोल पम्प निर्माणको कार्य रोक्न उच्च अदालत पोखरामा असोज ८ गते रिट दर्ता गरेका थिए । रिटमा विभिन्न सरकारी कार्यालय रहेको सो क्षेत्रमा प्रज्वलनशील पेट्रोलियम पदार्थको डिपो राखेर बिक्री वितरण गर्दा भवितव्य आउन सक्ने भन्दै निर्माण रोक्नुपर्ने माग गरिएको थियो ।
प्रहरीले पेट्रोल पम्प बनाउन लागेको सो क्षेत्रमा नेपाल राष्ट्रबैंक पोखरा, जिल्ला प्रशासन कार्यालय कास्की, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साथै जिल्लास्तरीय कार्यालय छन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरीको कल्याण महाशाखा, नेपाल आयल निगम, संघीय प्रहरी इकाई (हाल गण्डकी प्रदेश प्रहरी) कार्यालय, पोखरा महानगरपालिका लगायतलाई विपक्षी बनाइएको छ ।
सरकारी कार्यालय निर्माण गर्ने उद्देश्यसहित प्रहरीले पेट्रोल पम्प बनाउन लागेको जग्गा २०३१ सालमा अधिग्रहण गरिएको हो । तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले बनाएको गुरूयोजनामा त्यस क्षेत्रलाई सरकारी कार्यालय रहने उल्लेख छ । सोही कुरालाई लिएर नागरिक समाजका अगुवा अदालत पुगेका थिए । अदालतले प्रथम दृष्टिमा अन्तरिम आदेश जारी गरेपनि मंगलबार रिट नै खारेज गरेको हो । नेपाल प्रहरीले कल्याण महाशाखाले ९ करोड ९६ लाख ६५ हजार ७२९ रुपैयाँ लगानीमा उक्त पेट्रोल पम्पको निर्माण गर्न लागेको छ ।
अदालतको आदेशसँग प्रहरीलाई पेट्रोल पम्प बनाउन बाटो खुलेको छ पेट्रोल पम्प बनाउन काभ्रेको ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ले पेट्रोल पम्प निर्माण ठेक्का पाएको छ ।