मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन, खोजीकार्य सुरु

कास्की/

कास्कीको माछापुच्छ«े गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका छन् ।

काठमाडौँको सनराइज कम्पनीबाट मर्दी आरोहणका लागि एक विदेशी र चार नेपाली कात्तिक २३ गते बिहान मर्दी आधार शिविरबाट हिँडेका थिए । सोही क्रममा हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादुर तामाङ कात्तिक २५ गते दिउँसो लडेर सम्पर्कविहीन भएपछि खोजी कार्य सुरु गरिएको माछापुच्छ«े गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोहणका लागि आएका नर्वेली नागरिकले टोलीका भरिया प्रेष्टिज बुर्लाकोटीलाई साँझ तामाङ लडेको जानकारी दिएका थिए । सम्पर्कविहीन भएका उहाँको खोजीका लागि आज बिहान पोखराबाट सुरक्षाकर्मी, तीन जना शेर्पा, बेपत्ताका परिवार र सनराइज कम्पनीका प्रतिनिधि मर्दीको हाइक्याम्प पुगेका छन् ।

टोली हेलिकप्टरबाट घटनास्थलको निरीक्षणपछि स्थानीय पर्यटन व्यवसायीसहितको उद्धार टोली पैदलमार्गबाट खोजीका लागि सम्भावित घटनास्थलतर्फ गएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । “एक विदेशीसहित पाँच जना मर्दी आरोहणका लागि आएको र विदेशीलाई आरोहण गराउने क्रममा मुख्य पर्यटक गाइड लालबहादुर लडेको जानकारीपछि हामी खोजीका लागि मर्दी बेसक्याम्प आइपुगेका छौँ । हेलिकप्टरबाट घटनास्थल पहिचान गरेपछि खोजीका लागि टोली पैदल गएको छ । यहाँको भौगोलिक कठिनाइ र प्रतिकूल मौसमका कारणले बेपत्ताको खोजीमा समस्या छ”, वडाध्यक्ष क्षेत्रीले भन्नुभयो ।

तामाङ सम्पर्कविहीन भएको स्थान समुद्री सतहदेखि पाँच हजार चार सय मिटरको उचाइमा रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button