भिजिट भिसामा गएकालाई श्रम स्वीकृति

काठमाडौँ /

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत सेप्टेम्बरसम्म भिजिट भिसामा गएर गन्तव्य देशमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । ती श्रमिकलाई नेपाली दूतावास मार्फत श्रम स्वीकृति प्रदान गर्न लागिएको हो ।

‘नेपालबाट श्रम स्वीकृति नलिइ गएका नेपाली श्रमिकलाई दूतावास मार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएका छौं । गन्तव्य देशले वैधानिकता दिइसकेपछि नेपालले ती श्रमिकलाई गैरकागजातबिहीन बनाउन मिल्दैन,’ श्रम मन्त्री शरतसिंह भण्डारीले पत्रकारहरूसँग भने ।

श्रम स्वीकृति नलिइ वैदेशिक रोजगारीमा गएका नेपालीको यकिन विवरण श्रम मन्त्रालयसँग छैन । तर, नेपाली दूतावासहरूका अनुसार कम्तीमा तीन लाख नेपाली श्रम स्वीकृति विना गन्तव्य देशमा काम गरिरहेका छन् । सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)मा दुई लाख रहेका छन् । त्यसबाहेक कुवेत, साउदी अरब र ओमानमा घरेलु श्रमिकहरू रहेका छन् ।

श्रममन्त्री भण्डारीका अनुसार पारिवारिक पुनर्मिलन, श्रमिकको कल्याणकारी सुविधा र सामाजिक सुरक्षाको दायराभित्र ल्याउनका लागि श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको हो । ‘नेपालमा आएर फेरि सोही रोजगारदातासँग काम गर्न श्रम स्वीकृति अनिवार्य चाहिन्छ । यसबिना अध्यागमनले उड्न दिँदैन । यो डरले धेरै महिला तथा पुरुष श्रमिक नेपाल आइरहेका छैनन्,’ उनले भने, ‘परिवार मिलन गराउन पनि उहाँहरूलाई श्रम स्वीकृति दिन जरुरी छ ।’

उनले दूतावासमा बायोमेट्रिक प्रणाली जोडिनेवित्तिकै श्रम स्वीकृति प्रदान सुरु हुने बताए । ‘जो अहिलेसम्म वैदेशिक रोजगार विभागले बायोमेट्रिक लिएको छैन । उनीहरूलाई श्रम स्वीकृति जारी गर्न मिल्दैन रहेछ । त्यसकारण अनिवार्य बायोमेट्रिक लिन पर्छ । यसको लागि हामीले सबै दूतावासमा बायोमेट्रिक प्रणाली जडान गर्ने प्रक्रियामा छौं । त्यो जडान हुनेवित्तिकै श्रम स्वीकृति जारी हुन्छ,’ उनले भने ।

वैदेशिक रोजगारीमा श्रम स्वीकृति नलिई श्रमिकलाई वैदेशिक रोजगार बोर्डबाट दिइँदै आएको कल्याणकारी सुविधा प्रदान गर्न कानुनले रोकेको छ । जसले गर्दा श्रमिकको मृत्यु भएमा, बिरामी परेमा राहत रकम पाउनबाट बञ्चित हुनुपर्छ । अहिले बोर्डले श्रमिक मृत्यु भएका आश्रित परिवारलाई १० लाख रुपैयाँ र बिमा वापत १४ लाख रुपैयाँ पाउने व्यवस्था छ । सामाजिक सुरक्षा कोषमा जोडिएका परिवारलाई भने आजीवन पेन्सन दिने व्यवस्था गरिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button