चिसो बढ्न सुरु भएसँगै गण्डकीमा डेङ्गु संक्रमण घट्दै, यसवर्ष ८ जनाको ज्यान गयो
पोखरा ।
चिसो बढ्न सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गु रोगको संक्रमण विस्तारै घट्दै गईरहेको छ । स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार गण्डकीमा विस्तारै डेङ्गु रोगको संक्रमण घट्दै गएको हो ।
यसपटक गत अक्टोबर महिनासम्म सात प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १६ हजार ७ सय ८१ जनामा डेङ्गु संक्रमण देखिएको थियो । डा. शर्माले प्रदेश राजधानी पोखरा डेङ्गुको ईपीसेन्टर बनेको बताउँदै नोभेम्बर महिना लागेपछि संक्रमणदर घट्दै गएपनि सतर्कता भने अपनाउन आग्रह गरे ।
गण्डकी प्रदेशमा यो वर्ष हालसम्म डेङ्गु संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । ३ जना पुरुष र ५ जना महिला गरि ८ जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालय गण्डकीले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत अक्टोबर महिनासम्म कास्कीमा ६ जना, तनहुँ र म्याग्दीमा एक एक जना गरि ८ जनाको मृत्यु भएको हो ।
अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा सबैभन्दा बढि संक्रमण देखिएकोमा संक्रमितको संख्या नोभेम्बर महिनामा विस्तारै घट्दै गईरहेको छ । यो वर्ष गण्डकी प्रदेशको कास्की जिल्लामा सबैभन्दा धेरै ८ हजार ३ सय सात जनामा संक्रमण देखिएको छ भने सबैभन्दा कम हिमालपारीको जिल्ला मनाङमा ६ जनामा संक्रमण देखिएको छ । यसवर्ष हालसम्म तनहुँमा ३ हजार पाँच सय ८८, पर्वतमा एक हजार ३ सय ६७, बागलुङमा एक हजार ८०, गोरखामा ९ सय ९९, स्याङ्जामा ६ सय ५५, म्याग्दीमा ३ सय ६९, नवलपुरमा दुई सय ७५ लमजुङमा एक सय २३ र मुस्ताङमा १२ जनामा संक्रमण देखिएको छ ।