१३४ यात्रु लिएर आएको सिचुआन एयरलाईन्सको जहाज पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण, पोखरेली उत्साहित
पोखरा /
पोखरामा विहीबार फेरी अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाईट भएको छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनेको २ वर्ष बित्दासमेत अन्र्तराष्ट्रिय उडान नियमित नभइरहेको बेला सिचुआन एयरलाईन्सले दोश्रो पटक चार्टर्ड फ्लाईट गरेको हो । चीनको कुनमिङ सहरबाट १३४ पर्यटक लिएर आएको सिचुआन एयरलाईन्सको एयर बस ३१९ चार्टर्ड विमान विहीबार अपराह्न २ः४० पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
२०२३ जनवरी १ देखि सञ्चालनमा आएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा यसअघि ७ वटा अन्र्तराष्ट्रिय चार्टर्ड फ्लाइट भइसकेका छन् । सिचुआनको यो पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा दोश्रो अन्र्तराष्ट्रिय फ्लाईट हो । यसअघि सोहि एयरलाईन्सले जनवरी २१, २०२३ मा पोखरामा पहिलो फ्लाईट गरेको थियो । त्यसअघि हिमालय एयरलाईन्सले जनवरी १, २०२३ मा डेमो फ्लाईट, भुटानको पारो अन्र्तराष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले सेप्टेम्बर ९, २०२३ मा र त्यसपछि नोभेम्बर ८ मा जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि चिनियाँ सरकारले दिएको राहत सामग्री बोकेर चिनका दुइवटा कार्गाे जहाज, तथा हिमालयन एयरलाइन्सले थप तीनवटा उडान पोखराका लागि गरेको थियो । त्यसपछि भने पोखरामा अन्र्तराष्ट्रिय उडान भएको थिएन ।
विहीबार भने पोखरामा यहि कात्तिक २४ गते हुने अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागी हुन आउने खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी लिएर सिचुआन एयरलाईन्स आएको हो । चीनबाट आएको सो जहाज करीब २ घण्टा पोखरा विमानस्थलमै रहेको थियो भने त्यसपछि ४ः१० बजे काठमाडौंको उडान भरेको थियो । यात्रु लिएर आएको सो विमान काठमाडौं फर्किदा भने रित्तै फर्कियो ।
पोखरा आएका खेलाडी, खेल प्राविधिक तथा खेल पदाधिकारी फर्किदा भने काठमाडौंहुँदै फर्किने बताइएको छ । पोखराबाट काठमाडौंसम्मको यातायात व्यवस्था अन्र्तराष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजक हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । उनले भने,‘काठमाडौंसम्म पुग्ने व्यवस्था हामीले गर्नेछौं, त्यसपछि उहाँहरु आफूखुशी फर्किनुहुनेछ ।’ पोखरा बसाईका क्रममा प्रतियोगिता सकिएको भोलिपल्ट अर्थात कात्तिक २५ गते आईतबार भने चीनिया पर्यटकहरुले पोखराको अवलोकन भ्रमण गर्ने कार्यतालिका रहेको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए ।
पोखरामा पुनः चार्टर्ड उडान भएपछि पोखरेलीहरु उत्साहित भएका छन् । तर नियमित अन्र्तराष्ट्रिय उडान नभएकोमा भने दुःख व्यक्त गर्छन् । पर्यटन सम्बद्ध संघ संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी विहीबारको चार्टर्ड फ्लाईटले पोखरामा अन्र्तराष्ट्रिय उडान सम्भव छ भन्ने पुष्टि गरेको बताए । उनले भने,‘१३४ यात्रु लिएर आएको जहाज अवतरण भयो । यसले पोखरामा अन्र्तराष्ट्रिय उडान गर्न सम्भव छ भन्ने प्रमाणित ग¥यो । तर नियमित उडान गर्न किन दिइरहेको छैन ? प्रश्न उठेको छ ।’ पोखरामा अन्र्तराष्ट्रिय उडान हुन नदिनु भनेको पोखरा र गण्डकी प्रदेशमाथिको उपेक्षा भएको बताए । ‘विहीबारको उडानले हामी उत्साहित छौं तर नियमित नहुँदा उत्तिकै दुःखीपनि छौं’–उनले थपे ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलेपनि विहीबारको चार्टर्ड फ्लाईटले आफूहरु उत्साहित बनेको बताए । यसले नियमित फ्लाईट गराउन नैतिक दवाब सिर्जना गर्छ,उनले भने,‘नियमित उडान गर्ने हो भने पोखरामा पर्यटक ह्वात्तै बढ्छ । जसले अर्थतन्त्रपनि चलायमान गराउँछ ।’