पोखरामा छठ मनाउन तयारी सुरु

पोखरा  ।

पोखरामा छठ मनाउन तयारी सुरु भएको छ । पोखराको फेवातालस्थित केदारेश्वर मन्दिरको क्षेत्रमा रहेको पार्वती छठघाटमा छठ पर्व मनाउन घाट निर्माण, रङ्गरोगन तथा सरसफाइका कार्य भैरहेको छ ।

नेपाल भारत व्यवसायी छठ पूजा समितिको आयोजनामा हुने पूजालाई व्यवस्थित बनाउन तयारीमा तिव्रता दिइएको समितिका अध्यक्ष विश्राम कुशवाहाले बताए । कार्तिक २२ गते अपरान्ह साढे ३ बजेदेखि साँझ ७ बजेसम्म र २३ गते बिहान साढे ३ बजेदेखि बिहान ७ बजेसम्म छठपूजा गरिने उनले जानकारी दिए ।

पोखराको नदीपुरको नारायणस्थान मन्दिर परिसर र रिठ्ठाघाट त्रिवेणीधाम सेतीनदी किनारा कालिखोलामा समेत छठ पूजा गर्ने गरिएको छ । पुजा कार्यक्रममा तराईका विभिन्न जिल्लाका साथै भारतबाट व्यापार तथा रोजगारका लागि नेपाल आएर परिवारसहित बसोवास गर्दै आइरहेकाहरू सहभागी बन्नेछन् ।

पर्वका लागि आवश्यक पर्ने बाँसका टोकरी, पङ्खा, माटोको भाँडोका साथै अन्य पूजा सामाग्रीको बिक्री समेत हुन थालेको छ । प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, भन्टा, मुला, सुथनी, अलुवा, जुटा, उखु, ठेकुवा, भुसुवा र मिठाई चढाउने गरिन्छ । पोखराका तीनवटा ठाउँमा गरेर झण्डै २ हजारको हाराहारीका व्रतालु पूजामा सहभागी हुने बताइएको छ ।

मिथिलाञ्चलसहित विशेष गरी मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ ।

त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् ।त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button