श्रद्धा भक्तिपूर्वक गरियो लक्ष्मीपूजा

काठमाडौँ, १५ कात्तिक : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन विहिबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइएको छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । लक्ष्मी पूजाका लागि विहिबार साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो एवं अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइएको थियो । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ ।
दीपमालिकासमेत गरेर मनाइने आजको पर्वमा दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ । लक्ष्मीपूजापछि कन्याकेटी र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने गरिन्छ । विहिबार घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ ।
घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख सहर उज्यालोले झिलीमिली बनेको छ । उज्यालोले घरबाहिरको वातावरण नै विहिबार उल्लासमय बनेको छ । उपत्यकामा दसैँको भन्दा बढी नै चहलपहल देखिएको छ । यसैले रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो ।