तिहारमा विस्फोटक पदार्थ प्रयोग नगर्न कास्की प्रशासनको आग्रह
पोखरा ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तिहार, छठ तथा नेपाल संवत्को अवसरमा पटाका, आतिशबाजी जस्ता विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण र प्रयोग नगर्न अनुरोध गरेको छ ।
पटाका, आतिशबाजी जस्ता विस्फोटक पदार्थको प्रयोगले सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्ता पदार्थको बिक्री वितरण र प्रयोग नगर्न कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले चाडबाड लक्षित सुरक्षा योजना अनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको जानकारी दिए ।
कास्की प्रशासनले कानून विपरीत रुपमा प्रतिबन्धित विस्फोटक पदार्थहरू किनबेच र प्रयोग भएको पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ । यस्तै तिहारका अवसरमा खेलिने देउसीभैलो जस्ता सांस्कृतिक कार्यक्रम शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी गुनासोरहित तवरले सञ्चालन गर्न तथा सार्वजनिक यातायात, आवतजावत र जनजीवनलाई असर नपर्ने गरी मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न प्रशासनको आग्रह छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले मिठाई लगायत खाद्य वस्तुको अत्यधिक खपत हुने तिहार छठ लगायत चाडपर्वलाई लक्षित गरेर कास्की प्रशासनले बजार अनुगमनलाई समेत तीव्रता दिएको बताए ।
कानून विपरीत जुवातास, कौडा, गोटी तथा लङ्गुरबुर्जा नखेल्न, नखेलाउन तथा जाँडरक्सी सेवन गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलापहरू नगर्न नगराउन समेत कास्की प्रशासनको अनुरोध छ ।