आठौँ गोदावरी पुष्प प्रदर्शनी पोखरामा सुरु, स्वदेशी फूलको प्रयोग गर्न मन्त्री श्रेष्ठको आग्रह
पोखरा ।
पोखरामा सोमबारबाट ’आठौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशिक पुष्प मेला–२०८१’ सुरु भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सुरु भएको मेलाको गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीवि सँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरू प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनु हुनेलाई उत्साह त मिल्छ नै, सँगै देशको अर्थतन्त्रलाई पनि टेवा पु¥याउँछ ।’ उनले भनिन् ।
फूलहरूको पर्व तिहारमा देशमा उत्पादित फूलको प्रयोग गर्न उनको सुझाव छ । ‘देशको उत्पादनले मात्रै फूलको माग धान्न सक्ने अवस्था अहिले छैन । केही समय अघिको वर्षाले पनि यसको खेतीमा असर गरेको छ । तर मिलेसम्म, उपलब्ध भएसम्म तिहारमा देशमै फूलेका फूलले शुभकामना र आशिष दिऔँ’ मन्त्री श्रेष्ठले आग्रह गरिन् ।
तिहार तथा छठ पर्वलाई लक्षित गरेर फूल पारखी तथा आम सर्वसाधारणलाई सहज रुपमा फूलका बिरुवा उपलब्ध गराउन, गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्नको निमित्त मेला आयोजना गरिएको फ्यान कास्कीका अध्यक्ष एवं कार्यक्रम संयोजक रामप्रसाद सुवेदीले जानकारी दिए।
मेलामा विविध प्रजातिका गोदावरी फूलका बिरुवाहरूका अतिरिक्त यसवर्ष भित्रिएका गोदावरी फूलका नयाँ प्रजातिका बिरुवा समेत प्रदर्शनी र बिक्रीका लागि राखिएको छ । यसपटक पानी धेरै परेकाले गोदावरी फूल अपेक्षित रुपमा नफूलेको व्यवसायिहरूले बताएका छन् ।
प्रदर्शनीमा २० वटा व्यवसायिक स्टल, २ वटा कृषि सामाग्री स्टल र एउटा सूचना मूलक गरी जम्मा २३ वटा प्रदर्शनी कक्ष रहेको संयोजक सुवेदीले बताए । २०६२ सालमा स्थापना भएको फ्यानले पुष्प व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि निरन्तर रुपमा मेलाको आयोजना गर्दै आएको छ । मेला कार्तिक १६ गतेसम्म चल्नेछ ।