माओवादी केन्द्रको खबरदारीसभा : सरकार ढल्छ भन्ने डरले बेथिति र भ्रष्टाचारीको संरक्षणतिर नजानुहोला ः दाहाल
काठमाडौँ
प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दलहरूले नै सरकार ढल्ने भ्रम फैलाइरहेको बताएका छन् । सरकार ढल्छ भन्ने डरले अझै बेथिति र भ्रष्टाचारीको संरक्षणतिर नलाग्न पनि पूर्वप्रधानमन्त्री दाहालले चेतावनी दिएका छन् ।
माओवादी केन्द्रले शनिबार काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारमा जानका लागि वा सरकार ढलाउनका लागि माओवादी सडकमा नआएको बताए ।
’अहिले सरकार ढाल्नका लागि खबरदारी सभा गरेको होइन । खबरदारी सभा घोषणा गर्ने बित्तिकै सत्तापक्षमा आतंक सिर्जना भयो कि सरकार आजै ढल्छ, भोलि नै ढल्छ, हामीले भनेका छैनौं उहाँहरूले नै भन्नुभएको छ । तपाईहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला, भ्रष्टाचारीको संरक्षणतिर नजानुहोला,’ दाहालले भने, ’लोकतन्त्र र संविधान माओवादी केन्द्रको त्याग र बलिदानबाट बनेको छ । त्यसमाथि आघात नपुगोस् भन्नेमा हामी अझ बढी गम्भीर र जिम्मेवार छौं । हामीले यो खबरदारी सभा नगर्ने हो सरकारको बेथिति र भ्रष्टाचारका गतिविधिको विरोध नगर्ने हो भने संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्छ । अराजकतावादी, प्रतिगमनकारीले टाउको उठाउने खतरा हुन्छ ।’
माओवादीले खबरदारी सभा घोषणा गरेपछि सरकारमा रहेका दलहरूले सरकार ढाल्न खोजेको र त्यो संविधान विरोधी हुन्छ भन्ने अभिव्यक्ति दिएको कुरा आफूकहाँ पनि पुगेको दाहालको भनाइ थियो ।
सत्तारुढ दलहरूले सरकार पूरै अवधि चलाओस् भनेर आफूले पहिले नै भनेको दाहालले उल्लेख गरे । उनले माओवादी सरकार ढाल्ने काममा नलाग्ने बताए । तर, सरकारमा रहेका दलहरू ’भ्रष्टाचारको रक्षा, सुशासनको विपक्ष र बिचौलियाको पक्षमा’ गइरहेकाले आफै ढल्ने बताए । यी कारणले सरकार ढलेमा आफूलाई दोष नदिन पनि दाहालको भनाइ थियो ।
दाहालले थपे, ’तपाईहरूजस्ता पार्टीहरू जो यो देशका दलाल, पुँजीपति, बिचौलिया, भ्रष्टहरूको प्रतिनिधिका रूपमा रहनुभएको छ, हामीले केही समय तपाईंहरूसँग सहकार्य गरेर गल्ती गरेछौं भन्ने परेको छ । तपाईंहरूसँग अब समीकरण गरौं, मन्त्री र प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं ।’