त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप

काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे । आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुबै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ । असोज १५ गते बिहीबार हेलिकप्टरसहित पाँच सय ११ उडान भए ।
बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित एक सय ८२ उडान र एक सय ८२ वटा अवतरण भएका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । यसबाट १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कूल पाँच सय ९९, मङ्गलबार पाँच सय ११ र बुधबार चार सय ७३ वटा उडान भएका छन् । बिहीबार र शुक्रबार केही उडान चाप घटेको छ ।
दैनिक सरदर आन्तरिक र अन्तर्राष्ट्रिय दुबैगरी चार सय हाराहारी उडान हुने गरेकामा अहिले एक सयदेखि एक सय ५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले जनाएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चालन अवरुद्ध भएपछि विकल्पको रुपमा रहेको हवाई उडानमा अध्याधिक चाप बढेको हो । उडान चाप ह्वात्तै बढेपछि केही एयरलाइन्सले उडान सङ्ख्या पनि थपेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा चाप हुँदा विमानस्थलको टर्मिनलमा भीडभाड बढेको छ भने एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ । विमानको उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढेको छ । आन्तरिकमा धेरै उडान एकदेखि दुई घण्टासम्म ढिला हुने गरेका छन् । अन्तर्राष्ट्रियतर्फ एकघण्टा भन्दा बढी समयसम्म विमान होल्डमा बसेर अवतरण गर्नुपरेको छ । हवाई उडान चाप बढेपछि एयर ट्राफिक व्यवस्थापनका साथै हवाई उडानको सुरक्षाको सन्दर्भ पनि आउँछ ।
उडान चापले विमानस्थल व्यवस्थापनदेखि एयरलाइन्स, विमान चालक (पाइलट) तथा गन्तव्यका विमानस्थलको व्यवस्थापकीय र सुरक्षाको प्रश्न उठ्नु स्वभाविक पनि हो । त्यसो हो भने उडान चाप हुँदा हवाई सुरक्षाको सन्दर्भलाई कसरी हेरिन्छ त ! यसै सन्दर्भमा हवाई क्षेत्रका जानकारहरुसँग केही जिज्ञासाको उत्तर खोज्ने प्रयास गरिएको छ । हवाई उडान चाप रहेपनि हवाई सुरक्षालाई चुस्त दुरुस्त र प्रभावकारी बनाइएको नियामक निकाय एवं एयरलाइन्सका अधिकारीले दाबी गरेका छन् ।