बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता, काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु
काठमाडौँ, १३ असोज : भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ ।
शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।
सबैभन्दा बढी जनधनको क्षति काठमाडौँ उपत्यकामा भएको छ । यहाँ ३४ जनाको मृत्यु र २१ जना बेपत्ता भएको जानकारी उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख किरण वज्राचार्यले दिनुभयो । बाढी र डुबानमा फसेका एक हजार ४५७ जनाको
उद्धार गरिएको छ ।
त्रिभुवन राजमार्ग अन्तर्गत चन्द्रागिरि नगरपालिका–२ र धादिङको सिमानामा पर्ने नौबिसे सडकखण्डको झ्याप्ले खोलामा गएको पहिरोमा तीन वटा बसका १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र थापाका अनुसार आठ पुरुष, पाँच जना महिला र एक बालक रहेका छन् ।
पहिरोमा एउटा हायस र अर्को भारतीय नम्बरको मालबाहक ट्रकलाई पनि पुरिएको अवस्थामा फेला पारिएको छ । यसै गरी सबैभन्दा बढी वर्षा मापन भएको काभ्रेपलाञ्चोकमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार बालबालिकासहित १० जनाको सनाखत हुन बाँकी छ । मकवानपुरमा सात जनाको मृत्यु भएको छ ।
बागमती–३ स्थित सुक्खा सल्यनीमा पहिरोले भत्किएको घरले थिचिएर फूलमाया थिङको मृत्यु भएको छ । मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–३, टेकरस्थित वत्सला माविस्थित एन्फा एकेडेमीमा फुटबल प्रशिक्षणमा रहेका छ जना विद्यार्थीको पहिरोमा परी मृत्यु भएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालका अनुसार छ जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिने भएको छ ।
एन्फाका अनुसार दिवस बानियाँ, प्रियान्स आचार्य,साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदिप्य बालमपाकी बेपत्ता भएका थिए । दोलखाको भीमेश्वर–६ मा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । चरीकोटस्थित सिमपानीमा गएको पहिरोले राजकुमार भुजेलको घर पुर्दा राजकुमार भुजेल उहाँकी श्रीमती राधिका भुजेल र १५ वर्षीय छोरा सुजन भुजेलको मृत्यु भएको हो । कोशी प्रदेशमा दस जनाको मृत्यु भएको छ भने थप नौ जना बेपत्ता छन् ।
पाँचथरमा मात्र पाँच जनाको मृत्यु र पाँच जना बेपत्ता छन् । धनकुटामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । यस्तै धादिङमा एक र सिन्धुपाल्चोकमा चार जनाको मृत्यु र पाँच जना बेपत्ता छन् ।