पहिलो ‘नेशनल डे कन्सर्ट’ले संविधान दिवसको रौनक बढायो

काठमाडौँ ।

संविधान दिवसका अवसरमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ मनाउने घोषणा भएसँगै काठमाडौँको दरबारमार्ग क्षेत्रमा केही दिनअघिदेखि नै चहलपहल फेरिएको थियो ।

दुई दिनअघिबाट प्रहरीले उक्त मार्गबाट सवारी आवागमन बन्द गरेर यातायात ‘डाइभर्ट’ गरेको थियो । जसले यातायात आवागमनमा अन्य क्षेत्रमा चाप परे पनि संविधान दिवस भव्य रूपमा मनाउने कार्यक्रम सार्वजनिक भएपछि छुट्टै उल्लास छाएको थियो ।

नेपाल टेलिकमबाट एसएमएसमार्फत नै हरेकका मोबाइलमा उक्त कार्यक्रमबारे सूचना प्रसारण भएपछि नागरिकहरू स्वतःफुर्त रूमपा आज अपराह्न ४ बजेअघि नै दरबारमार्गमा राष्ट्रिय झण्डा बोकेर आइपुगेका थिए ।

झण्डा नल्याउनेहरूलाई झोलामा झण्डा बोकेर आएकाहरूले उपलब्ध गराएका थिए । जसका कारण दरबारमार्ग राष्ट्रिय झण्डाले राताम्य भएको थियो, जुन विजयीको उत्सवभन्दा फरक थिएन । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका मन्त्रीहरू सहभागी हुँदा संविधान दिवसको रौनकता थपिएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री विद्या भट्टराईको पनि सहभागिता थियो ।

छोटो समय उपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिनुभयो । नागरिकस्तर र कलाकारबाट यो भव्य कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रूपमा मनाउन सबैमा आग्रह गरेर झण्डा फहराउँदै कार्यक्रमबाट बाहिरिनुभयो ।

उहाँ उपस्थिति हुँदा ‘गाउँगाउँबाट उठ…’ बोलको गीत प्रस्तुत भएको थियो । सहभागीहरूले सङ्गीतको तालमा नृत्यसँगै राष्ट्रिय झण्डा हल्लाएर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । लामो सङ्घर्षपछि कयौँ नेपालीहरूले ज्यान आहुति दिएर प्राप्त भएको उपलब्धिले २०७२ साल आजकै दिन संविधान जारी भएको थियो । त्यही खुसीयालीमा आजको दिनलाई संविधान दिवसका रूपमा मनाउन थालिएको हो ।

यसअघि सरकारीस्तरबाट अभियान चलाएर दिवस मनाउने गरिएको थियो । टुँडिखेलमा विशेष समारोह हुन्थ्यो भने सरकारी कार्यालयबाहेक अन्य क्षेत्रमा खासै कार्यक्रम हुन्थेन । तर आज दरबारमार्गमा भएको समारोहले संविधान दिवसको महत्त्व बढाएको सहभागीहरूले प्रतिक्रिया दिए ।

अपराह्न ४ बजेदेखि सुरु भएको नेशनल डे कन्सर्ट राति ठिक ८ः३० बजे सकिएको थियो । कन्सर्टमा सुरक्षाकर्मीसहित विभिन्न ब्याण्ड तथा कलाकारले दिएको प्रस्तुति (गीत सङ्गीत)मा उपस्थित दर्शक मजैले झुमे । अधिकांश प्रस्तुति राष्ट्रिय भावनाले ओतप्रोत थियो । उनीहरूले राष्ट्रिय झण्डा फहराउँदै संविधान जारी गर्नुअघिको सङ्घर्ष सम्झिए भने नेपाली जनता आफैँले बनाएको संविधानको स्थायित्वको कामना पनि गरे ।

कन्सर्टको सुरुमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिँदा नै उपस्थित दर्शकले मनोरञ्जन लिन थालेका थिए । त्यसपछि सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले दिएको प्रस्तुतिलाई दर्शकले खुलेर साथ दिए । बीचबीचमा आतिसबाजी गर्दा राष्ट्रिय दिवस तथा संविधान दिवस महाउत्सवमा परिणत भएको थियो ।

नेपाली समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेशनल डे काउन्सिलले पहिलोपटक नागरिकस्तरबाट सर्वसाधारणका लागि यो अवसर प्रदान गरेको हो । उक्त समारोहमा सहभागी अधिकांशले राष्ट्रिय झण्डा फहराएका थिए भने दरबारमार्ग क्षेत्र महाउत्सवझैँ देखिएको छ । झण्डाले राताम्मे भएको छ । कार्यक्रममा कुटुम्ब ब्याण्डलगायत कलाकारले प्रस्तुति दिए ।

सुरुमा गायक सञ्जय तुम्रुकले ‘देशले रगत मागे मलाई बलि चढाउनु’ गीतबाट कलाकार प्रस्तुतिको दैलो उघार्नुभएको थियो । अनि गायिका देवीका बन्दनाले ‘नेपाली भएर बाँच्न पाऊँ’ गीत गाउनुभयो । गायक आनन्द कार्की ‘यो देश बन्छ’ गीत गाउँदा गायिका कुन्ती मोक्तानले शिलाबहादुर मोक्तानको सङ्गीत र बुद्धवीर लामाको रचनामा रहेको ‘लालीगुराँस अजम्बरी चम्पा चमेली, जे भने नि हुन्छ हजुर म त नेपाली’ गीत प्रस्तुत गर्नुभयो ।

समारोहमा गायक सुगम पोखरेलले पछिल्लो समयमा देशमा घृणा फैलिरहेकामा चिन्ता प्रकट गर्दै दुर्गालाल श्रेष्ठको शब्द र न्ह्यु बज्राचार्यको सङ्गीत रहेको ‘नयाँ नेपाल’बाट ‘हामी नेपाली, हाम्रै हो नेपाल, तराई पहाड हिमाल’ बोलको गीत पस्किनुभयो । सुवानी मोक्तानले ‘मेरो देश मलाई लाग्छ प्यारो’ गाउनुभयो भने गायक दीपक लिम्बूले पनि राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गर्नुभएको थियो ।

‘नेशनल डे कन्सर्ट’को सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गरी पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । सो क्षेत्र भएर आवातजावत हुने सवारीसाधनलाई आज यातायात ‘डाइभर्ट’ गरिएको थियो भने विभिन्न पायक पर्ने ठाउँमा पार्किङ व्यवस्थापन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button