जनअपेक्षित उच्च शिक्षामा जनप्रियका अवसर र चुनौती विषयक कार्यशाला

पोखरा ।

पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसले जनअपेक्षित उच्चशिक्षामा जनप्रियका अवसर र चुनौती विषयक कायशाला गोष्ठी विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा सम्पन्न गरेको छ ।

क्याम्पद्वारा विसं. २१०० सम्मको रणनीतिक सोचपत्र तयारका सन्दर्भमा आयोजित गोष्ठीमा क्याम्पस व्यवस्थापन एवम् सञ्चालन प्रक्रिया विषयमा डा. श्रीकान्त शर्मा खतिवडाले सकारात्मक सोचको दर्शनलाई केन्द्रित गर्दै प्रशसनीय दृष्टिकोणमा आधारित कार्यपत्र प्रस्तुत गरेका थिए । जनप्रिय बहुमुखी क्याम्पसको शैक्षिक कार्यक्रम एवम् जनशक्ति व्यवस्थापन विषयमा प्राडा विकासकुमार केसी र स्रोत साधन व्यवस्थापनको अवस्था विषयमा डा.देवीलाल शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।

गोष्ठीमा उच्चशिक्षामा गुणस्तर वृद्धि, अवसरहरूको पहिचान र चुनौतीहरूको सामना गर्ने रणनीतिहरू विषयमा क्याम्पस सञ्चालक समिति, शिक्षक कर्मचारीलाई चार वटा समूहमा विभाजन गरिएको थियो । सहभागीहरूले उच्चशिक्षा क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरू, प्रविधि प्रयोग, उद्यमशीलता र रोजगारमुखी शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने कुरामा जोड दिएका थिए । समूहगत छलफलबाट आएका सुझाव र निष्कर्षलाईसमेटेर भिजन जेएमी २१०० रणनीतिक योजना तयार गरिने जानकारी स्रोत व्यक्ति डा. श्रीकान्त शर्मा खतिवडाले दिए ।

समूहगत छलफलमा पूर्व कार्यवाहाक अध्यक्ष परशुराम बराल, सदस्य विष्णुप्रसाद बराल, कृष्णप्रसाद तिमिल्सिना, नम्रता बराल, देवी वस्ताकोटी, अर्जुनकुमार श्रेष्ठ, पूर्व क्याम्पस प्रमुख लोकराज भण्डारी, विभागीय प्रमुखहरू वेदहरि तिमिल्सिना, दिव्यालक्ष्मी चालिसे, यमप्रसाद बराल, गोविन्द्रप्रसाद गैह्रे, शिलु चालिसेलगायतले आफ्ना धारणा राखेका थिए । क्याम्पस सञ्चालक समितिले आगामी दिनमा शैक्षिक उन्नयनका पहललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

क्याम्पसका सवल पक्षमा अध्ययन अध्यापनका लागि सुविधासम्पन्न भौतिक पूवाधार, पुस्तकालय, प्रयोगशाला, सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा, १३ वटा शैक्षिक कार्यक्रमका लागि विशेषज्ञता हासिल गरेका दक्ष जनशक्ति रहेका छन् । कमजोर पक्षमा क्याम्पसलाई खेलकुद मैदान र जग्गाको अभाव रहेको छ । भर्ना दर, अध्ययनमा निरन्तरता, तहपार गर्नेहरूको कमी र प्राध्यापकहरू अनुसन्धान र प्राज्ञिक लेखनमा आवद्ध नहुनु रहेका छन् । क्याम्पसले सम्भावना, अवसर र चुनौतीहरूको विश्लेषण गर्दै मानित विश्वविद्यालय उन्मुखका लागि स्वायत्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सिप, प्रविधि र उद्यमशीलता ः शिक्षामा जनप्रियको गतिशीलताको गुञ्जनसहित विगत ३३ वर्षदेखि गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि निरन्तर क्रियाशील क्याम्पसले शिक्षा मन्त्रालयबाट २ पटक उत्कृष्ट सामुदायिक क्याम्पसबाट पुरस्कृत भएको छ भने विश्वविद्यालय अनुदान आयोगबाट २ पटक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेको अध्यक्षतामा सम्पन्न गोष्ठीको उद्धेश्यमाथि निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले प्रकाश पारेका थिए । कोषाध्यक्ष गणेशबहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने राजेन्द्र पौडेल र विकास थापामगरले कार्यक्रमको सहजीकरण गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button