कोरोना संक्रमण बढ्दो, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।
छिमेकी राष्ट्र भारतमा कोरोनाको सङ्क्रमणदर तीव्र रूपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सङ्क्रमण फैलन नदिन पूर्व तयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको सङ्क्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारको काम भइरहेको मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डा।प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तीव्र रूपमा फैलिएको सङ्क्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्व तयारी भइरहेको जानकारी दिए । प्रवक्ता डा।बुढाथोकीले छिमेकमा सङ्क्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्व तयारीमा लागिरहेको बताएका हुन् ।
पूर्व तयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । नाकामा भित्रने सबैलाई कोरोनाको आरडीटी टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भए पनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न आग्रह गरिरहेको उनको भनाई छ ।
प्रवक्ता बुढाथोकीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरू देशभित्र वा देश बाहिर जो भए पनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलताहरू देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको बताए ।
डा।बुढाथोकीले कोरोनाका लागि पूर्वाधार र जनशक्तिको अभाव नभएको बताए । सङ्क्रमण बढेको अवस्थामा पनि पहिलेको तुलनामा उपचार र व्यवस्थापन गर्न सहज हुने उनले दाबी गरे । उनले आकस्मिक व्यवस्थापनका रेस्पोन्स टिमले पाँच मिनेटभित्र काम सुरु गर्ने गरी तयारी अवस्थामा रहेको जानकारी दिए । देशभरका २५ वटा हब हस्पिटल, २ हजारभन्दा बढी स्याटलाइट हस्पिटललाई पनि तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको उनको भनाई छ ।
कोभिडको प्रतिकार्यका लागि अनुगमन गर्न देशभरका ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टहरूलाई केन्द्र र प्रदेशले गर्ने व्यवस्था मिलाइएको छ ।