माउन्ट अन्नपूर्ण माविका विद्यार्थी मुक्तिनाथमा

पोखरा, फागुन १७/ पोखरा–३ नदिपुर, भिसी मार्गमा अवस्थित माउन्ट अन्नपूर्ण माविका कक्षा ११ मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरू अध्ययन अवलोकन भ्रमणका क्रममा मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पुगेका छन्।
भ्रमणमा विद्यालयका प्रशासक चित्र गुरुङ, टुरिजम एचओडी शिक्षक कर्म पि. लामा, लेखा प्रमुख नवराज शर्मा सहित करिब ८० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।टुरिजम एचओडी प्रमुख शिक्षक लामाका अनुसार विद्यार्थीहरूको पाठ्यक्रम अन्तर्गत आवश्यक पर्ने खोज तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन उक्त भ्रमण आयोजना गरिएको हो। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरूले होटल सञ्चालक तथा गेष्टसँग प्रत्यक्ष कुराकानी गरी डाटा संकलन गर्नुपर्ने तथा त्यसको आधारमा प्रतिवेदन तयार पार्नुपर्ने व्यवस्था रहेको उनले बताए।
उनका अनुसार सो अध्ययन कार्य ५० पूर्णाङ्कको परीक्षासँग सम्बन्धित रहेकाले व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले मुक्तिनाथ क्षेत्रमा अध्ययन अवलोकन भ्रमण सञ्चालन गरिएको हो। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यावसायिक सीप, अनुसन्धान क्षमता तथा पर्यटन क्षेत्रप्रति बुझाइ बढाउने विश्वास लिएको जनाएको छ। माउन्ट अन्नपूर्णमा म्यानेजमेन्ट,होटल म्यानेजमेन्ट र माउंटेनियरिङ बिषयमा कक्षा १२ सम्म पढाइ हुन्छ यो गण्डकी प्रदेकै निजि स्तरबाट सञ्चालित पहिलो बिद्यालय हो ।



