इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि पहिलोपटक रोयल च्यालेन्जर्स बेंगलुरुलाई
काठमाडौं ।
रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले १८ वर्षमा पहिलोपटक आईपीएलको उपाधि जितेको हो ।
बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।
पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिए ।
बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन ।



