पोखरा फागुन १७/ हेमराज पहारी स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको हेमराज पहारी स्मृति पुरस्कार(२०८२ साहित्यकार एवं भाषाविज्ञ मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिएको छ ।
शनिबार पोखरामा आयोजित कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले उपाध्यायलाई एक लाख रुपैयाँ राशिको नगद र सम्मानपत्रले सम्मान गरेका हुन् ।
छन्दनायक माधव वियोगी संयोजक, लोक गायिका हरिदेवी कोइराला र साहित्यकार कृष्ण पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा उपाध्यायलाई पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति तिवारीले नेपाली अत्यन्तै धनी भाषा भएको बताए ।
आफूले पनि धेरै समय अंग्रेजी भाषा नपढेको र पछि बाध्यतामा अध्ययन गरेको बताए। अहिले विश्वका ६३ प्रतिशतले अंग्रेजी भाषा बोल्ने गरेको पाइएको उनले बताए ।
आफ्नो भाषा संस्कृति र परम्परा भुल्न नहुने भन्दै उनले पछिल्लो समयमा नेपाली साहित्यको दायरा फराकिलो बन्दै गएको बताए ।
भाषा शुद्धताका विषय बहसमा रहेको उल्लेख गर्दै उनले भाषाको अध्ययन अनुसन्धान गहिरो हुनुपर्ने खाँचो ओैँल्याए ।
भाषाका विषयमा नेपाली वाङमयले जति गर्नुपर्ने हो त्यति हुन नसकेको उनले बताए ।
सम्मानित प्रतिभा उपाध्यायले सम्मानले आफूलाई निकै खुशी लागेको भन्दै हेमराजको निधनले नेपाली भाषा र साहित्यमा अपूरणीय क्षति पुगेको बताए ।
हिन्दीमा भन्दा नेपाली भाषामा शब्द धेरै भएको उनले बताए । आफू अझै पनि नेपाली भाषाकै श्रीवृद्विमा लाग्ने उनले स्पष्ट पारे
प्रतिभा छनोट समिति संयोजक माधव वियोगीले मुकुन्दशरणलाई पुरस्कारका लागि सिफारिस गर्नुका कारणबारे चर्चा गरेका थिए । उनले मुकुन्दशरण सबैको प्रेरणाको श्रोत भएको बताए ।
कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला, बिम्बकवि रमेश श्रेष्ठ, प्राडा कुसुमाकर न्यौपाने, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, प्रतिष्ठानका उपाध्यक्ष गोविन्दराज पहारीलगायतले सम्मानित मुकुन्द शरण र स्वर्गीय हेमराज पहारीको जीवनी र योगदानका बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा कवि शिव तिवारी, कवि चन्द्रावती वाग्ले र बाल प्रतिभा देवेश पहारीले मुकुन्द शरण र हेमराजका कविता वाचन गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार असफल गौतमले गरेका थिए ।

