Site icon PokhareliNews

भाडामा बस्नेले विद्युत महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन

काठमाडौँ –  कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अवस्थामा केही ठूला आयोजनासमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग गरिएको विशेष अन्तर्वार्ताको सम्पादित अंश :

कोरोना भाइरसले विश्व आक्रान्त छ । त्यसको प्रभाव हामीलाई पनि प्रत्यक्ष परेको छ । आर्थिक, सामाजिक तथा दैनिक जीवनमा पनि प्रभाव परेको छ । त्यसो हुँदा अप्ठ्यारो परेका जनतालाई राहत दिने उद्देश्य राखिएको छ । कूल १५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई छुट दिने भन्ने निर्णय भएको छ । हामी ग्यास आयात गरिरहेका छौँ । लकडाउनको समयमा पर्याप्त आपूर्ति त भएको छ । तैपनि विदेशबाट डलर तिरेर ग्यास ल्याउने र घर घरसम्म पु¥याउने विषय आफैँमा बोझिलो पनि छ । यस आधारमा सङ्क्रमणको खतरा छ । घर घरमै पुगेको बिजुलीमा नै प्रोत्साहन गर्नुपर्छ भनेर हामीले निर्णय गरेका हौँ । १५० यूनिट भनेको सामान्यता पाँच जनाको परिवारमा दैनिक तीनदेखि पाँच यूनिटसम्म खर्च हुँदो रहेछ, इन्डक्सन चुल्हो प्रयोग गर्दा । त्यतिसम्म छुट दियो भने हामीसँग भएका कूल ४३ लाख ग्राहकमध्ये झण्डै सबै ग्राहक समेटिन्छ । दुई लाख जति ग्राहक सो परिमाणभन्दा बढी प्रयोग गर्ने छन् । त्यसो गर्दा समेत उनीहरुलाई पनि १५० यूनिटमा छुट दिन सकिन्छ । अप्ठ्यारो अवस्थामा राहत दिने उद्देश्य राखिएको छ । यसैबाट ग्यासलाई विस्तारै विद्युतीय चुल्हो वा विद्युतीय सामग्रीको प्रयोगतर्फ लैजान सकिन्छ भनेर यो निर्णय गरिएको हो ।

हामी पछि इन्डक्सन चुल्हो प्रयोग गर्नेलाई नै केन्द्रमा राखेर थप कार्यक्रम ल्याउँछाँै । त्यो सामान्य अवस्थामा हुन्छ । विशिष्ट अवस्थामा १५० यूनिटसम्म विद्युत् प्रयोग गर्ने सबैजसो ग्राहस्थ उपभोक्तालाई छुट हो । यति मात्रै किन त भन्दा जो विद्युतीय चुल्होमा जान चाहन्छ, यसलाई खुलेरै प्रयोग गर्न सकोस् भन्ने ध्येय राखिएको छ । विद्युतीय चुल्होतर्फ आकर्षण गरोस् भनेर गरिएको हो । सरकारले इन्डक्सन चुल्हो आयातमा पनि भन्सार छुट दिने निर्णय गरेको छ । ग्यासमा दिइएको अनुदान झण्डै एउटा सिलिण्डरमा रु ३०० रहेको छ । त्यो भनेको वार्षिक झण्डै रु नौ अर्ब बराबरको हुन जान्छ । त्यसलाई विस्तारै हटाउनेतर्फ जान्छौँ । इन्डक्सन चुल्हो प्रयोग गर्ने तह भनेको १०० देखि १५० यूनिट नै हो । त्यो घर परिवारलाई विद्युत् महसुलसमेत सस्तो गर्ने प्रस्ताव समेत गरिसकेका छौँ । त्यसो गर्दा, हामी आफैँले उत्पादन गरेको विद्युत् प्रयोग हुन्छ । विदेशबाट हाम्रा युवा युवतीले पठाएको विप्रेषण देशभित्रै सञ्चितीमा रहने वातावरण पैदा हुन्छ । त्यो पैसाले हामीले वार्षिक झण्डै रु ६४ अर्ब बराबरको ग्यास आयात गरिरहेका छौँ, त्यो कम हुन्छ । वार्षिक बजेट जस्तै वार्षिक व्यापार घाटा छ । त्यसलाई सन्तुलन गर्दछ । विद्युत् ग्यासभन्दा सस्तो पनि छ । विस्तारै आगामी वर्षदेखि वर्षामा आत्मनिर्भर हुँदैछौँ । आफ्नो विद्युत् बजारसमेत देशभित्रै बनाउन सक्छौँ । थप बजार खोज्नुपर्ने अवस्था हुँदैन । बहुआयामिक उद्देश्य राखेर नै यो निर्णय भएको छ ।

खासगरी, सबै ग्राहस्थ ग्राहकलाई छुट दिएका छौँ । भाडामा बस्नेले सहायक मिटर लिएको त हुन्छ, तर मुख्य ग्राहकको मिटरबाटै अध्ययन गर्ने गर्दा रहेछौँ । त्यसमा १५० यूनिटमा २५ प्रतिशत छुट त पाउने नै भए । त्योभन्दा बढीको हकमा नपाउने भयो । घरबेटीले थप चार्ज लगाउने अवस्था छ, त्यो गर्न पाइँदैन । त्यो हामीले कानूनी विषय नै बनाउँछाँै । अवैध रुपमा त्यसरी थप रकम असुल्न पाइँदैन । हामीले जतिमा दिन्छौँ, त्यसमा बढाएर लिने गर्न पाइँदैन । सरकारले दिएको छुट कोठामा बस्नेले पनि पाउनु नै पर्छ । व्यवस्था यही हो । आगामी दिनमा यसलाई अध्ययन गरेर, अस्थायी वा सब–मिटर दिने गरिएको छ, त्यसलाई पनि हेरेर अलगअलग छुट गर्ने व्यवस्था गर्नुपर्छ भनेर महसुस गरेका छौँ । लाखौँ मान्छे, डेरामा बस्ने अवस्था छ । घरबेटीले छुट पाउने तर जुन वर्गलाई हामीले लक्षित गरेका छौँ, त्यसले नपाउने अवस्था आउन सक्छ । त्यसलाई हामी आगामी दिनमा सामान्य अवस्था आएपछि इन्डक्सन वा विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्ने नीतिका साथ अगाडि बढाउँछौँ । समग्र नीति बनाउँदा हामी त्यसलाई व्यवस्थापन गर्छौँ । जहाँसम्म इन्डक्सन प्रयोग गर्नेलाई १५० यूनिटसम्मको हकमा केही छुट दिने निर्णय गर्दा केही मानिसले ‘हासी मजाक’ पनि गरे । मैले वाणिज्य मन्त्रालयसँग कुरा गर्दा हामीसँग कूल ६ हजार बढी इन्डक्सन चुल्हो छ समेत भनेको अवस्था छ । यद्यपी ती चुल्हो बिक्री भइसकेको छ । निजी क्षेत्रसँग झण्डै २० हजार बराबरको इन्डक्सन चुल्हो छ भन्नुभएको छ । मैले त्यो विषय सामाजिक सञ्जालमा राखे । त्यो रातारात एक हप्तामा नै बिक्री भयो । बजारमा झण्डै २० हजारको हाराहारीमा विद्युतीय चुल्हो रहेको थियो, त्यो पनि बिक्री भएको छ । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही चुल्हो ल्याउने तयारी गर्दैछ । निजी क्षेत्रले पनि चुल्हो ल्याउने तयारी गर्दैछ । थोरै प्रोत्साहन गर्दा पनि आम रुपमा त्यसको सकारात्मक सन्देश जाँदो रहेछ भन्ने स्पष्ट भएको छ । यो मैले महसुस गरेको विषय हो ।

हामीले सकारात्मक रुपमा सोचेको विषयमा केही कमी कमजोरी होलान्, त्यसलाई सकारात्मक सुझाव दिनेभन्दा पनि नकारात्मक टिप्पणी गर्ने या, यसलाई एउटा हाँसीमजाक गर्ने विषय राम्रो होइन भन्ने पुष्टि गरेको छ । हाम्रो उत्पादन हो विद्युत, लगानीकर्ताको लगानी परेको छ । हामी विद्युतमा आत्मनिर्भर हुँदैछौँ । उज्यालो मात्रै होइन, खाना पकाउन पनि प्रयोग गर्न सक्छौँ । आफ्नै उत्पादन प्रयोग गरेर व्यापार सन्तुलन गरौँ भन्ने छ । अर्कोतर्फ सस्तो पनि भरपर्दो पनि छ । घरघरै कोठा कोठामा आइपुग्छ, सिलिण्डर बोकेर हिँड्नुपनि पर्दैन । ‘ग्यालेन’ बोकेर हिँड्नु पर्दैन, पहाडमा भरीया लगाएर बोक्नु पनि पर्दैन । आफ्नै प्रसारण लाइनमार्फत पुगेको छ । त्यसैले यो विषयलाई सकारात्मक रुपमा नै बुझिदिन म अनुरोध गर्दछु ।

जसले लकडाउनको समयमा विद्युत् खपत गरेर उद्योग चलाउँछ भने उसलाई ३० देखि ५० प्रतिशतसम्म छुट दिने निर्णय भएको छ । वैशाखदेखि त विद्युत् पनि बच्दै जान्छ, विद्युत् उत्पादन बढ्छ । यो बीचमा पनि सुरक्षा व्यवस्था गरेर उद्योग चलुन् भन्ने नै हो । विद्युत् उपभोग गर्नेलाई कम मूल्यमा विद्युत् दिने भनेर सरकारले व्यवस्था गरेको छ ।

हामीले उज्यालो पु¥यायौँ, अब भरपर्दो विद्युत् पु¥याउँछौँ, यो हाम्रो प्रतिवद्धता हो । भरपर्दो र सुलभ बनाउनेतर्फ लागेका छौँ । उज्यालो पुगेर मात्रै भएन, भरपर्दो बनाउन नयाँ जिम्मेवारी थपिएको छ । ट्रिपिङलगायत समस्या देखिएको छ, एकाध स्थानमा, त्यसलाई हामी व्यवस्थापन गर्न लागेका छौँ । कतिपय स्थानमा ट्रान्सफर्मर फेर्नुपर्ने होला, कतिपय स्थानमा वितरण प्रणालीको क्षमता बढाउनुपर्ने पनि होला । घरघरमा ठूलो क्षमताका इन्डक्सन प्रयोग गर्दा पाँच एम्पियरका फ्यूज छन् । न्यूनतम १० एम्पियरका फ्यूज भयो भने सजिलै इन्डक्सन प्रयोग गर्न सकिन्छ भन्ने छ, प्राविधिकको । ट्रिपिङ घरमै भएको पनि हुन सक्छ, सबै ग्राहकलाई यो कुरा थाहा नहुन पनि सक्छ । समग्रमा प्राधिकरणले सकेन भन्ने पनि हुन सक्छ । इन्डक्सनलाई प्रोत्साहन गर्न घरकै वाइरिङ सिस्टमलाई नै क्षमता वृद्धि गर्ने कार्यक्रम ल्याउँछौ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत कूल १० हजार इन्डक्सन चुल्होको प्रवद्र्धन गरिरहेका छौँ, यसै वर्षमा । यसमा पनि विशेष गरी इन्डक्सन वितरण गर्ने, अनुदान दिने र सिस्टम सुधार पनि गर्ने छ । जसको सिस्टम छैन, यसलाई अनुदान दिने, सिस्टम भएकाको हकमा इन्डक्सनमा पनि अनुदान दिने योजना रहेको छ । आगामी वर्ष एक लाख सङ्ख्यामा इन्डक्सनमा अनुदान दिने छ । त्यसले सिस्टम सुधार पनि गर्न सकोस् भन्ने छ ।

काठमाडौँ उपत्यकामा हाम्रो झण्डै ५०० मेगावाटसम्म आपूर्ति गर्ने क्षमता छ । गत हिउँदमा ४५० मेगावाटसम्मको माग भयो । त्यसले काठमाडौँ उपत्यकामा चाप प¥यो भन्ने देखायो । त्यसलाई हामीले हेरेर हिमाल सिमेन्टको कारखाना रहेको र हाल निर्माणको क्रममा रहेको सुक्खा बन्दरगाह नजिक जग्गा दिनुस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेका छौँ । उद्योग मन्त्रालयले त्यसलाई स्वीकार गरेको छ । मन्त्रीज्यूसँग हाम्रो कुराकानी भएको छ । हामी छिट्टै त्यहाँ सवस्टेशन राख्दैछौँ । त्यसबाट ललितपुर र भक्तपुरमा विद्युत् उपलब्ध गराउन थप सहज हुन्छ । चक्रपथभन्दा बाहिर त्यसले काम गर्छ । चक्रपथभित्रको आपूर्तिमा हामीलाई प्रेसर कम हुन्छ । जहाँजहाँ सम्भव हुन्छ, त्यहाँत्यहाँ ट्रान्सर्फमर परिवर्तन गर्दैछौँ, काठमाडौँ उपत्यकाभित्र पनि । सबैभन्दा ठूलो क्रान्तिकारी सुधारको रुपमा हामीले विद्युतीय प्रणाली नै भूमिगत गर्दैछौँ । त्यो प्रणाली जडान हुनेबित्तिकै भरपर्दो खालको प्रणाली विकास हुन्छ । ट्रिपिङको अवस्था रहँदैन । सवस्टेशनको क्षमता विकास गर्छौ । काठमाडौँ भित्रने केही लाइनमा सुधार गर्दैछौँ । त्यसो हुँदा काठमाडौँमा एक हजार २०० मेगावाटसम्म पनि खपत गर्न सकिने खालको प्रणाली विकास हुन जान्छ । भूमिगत प्रसारण प्रणालीलगायत विभिन्न विकल्प सहितको काम गर्दैछौँ । अहिले पनि सात लाख बढी इन्डक्सन बजारमा प्रयोग भइरहेको छ । लकडाउन अगाडिको ‘डिमाण्ड’ नै एक हजार २०० मेगावाट बढी थियो । त्यसपछि झरेर ७०० मेगावाटमा आयो । रातको समयमा त्यो पनि घटेर ५०० मेगावाटको हाराहारीमा आउँछ । बिहान ७०० मेगावाटको हाराहारीमा पुग्छ, साँझ पनि अवस्था त्यही छ । किन त भन्दा, काठमाडौँमा इन्डक्सन प्रयोग भएको छ । खाना पकाउन विद्युतीय सामग्रीको प्रयोग भएको छ भन्ने त्यसले देखाउँछ । गुणात्मक रुपमा विद्युत् खपत वृद्धि गर्न प्रसारण तथा वितरण प्रणालीमा सुधार गर्छौं ।

महसुल निर्धारणका लागि आयोगका लागि प्रस्ताव गरिएको छ । ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ नहुने देखिएको छ । सरकारले २०७५ वैशाखदेखि नै डेडिकेटेड र ट्रक लाइन हटाइसकेका छ । लोडसेडिङको अन्त्य भइसकेपछि औद्योगिक क्षेत्रमा समेत त्यो अवस्था छैन भन्ने हो तर कानूनीरुपमा त विद्युत् नियमन आयोगले हुर्नुपर्छ । २०७५ जेठदेखि पूर्ण वितरण छ । कानूनी व्यवस्थाका आधारमा पनि हामीले सबैलाई २४ सै घण्टा विद्युत् दिएका छौँ । सबै विषय हेर्न आयोगले निर्णय गर्नुपर्छ ।

त्यस्तै कूल १० यूनिटसम्म विद्युत् प्रयोग गर्ने झण्डै आठ लाख ग्राहक छन् । जसलाई सेवा शुल्क बाहेक निःशुल्क नै विद्युत् दिने प्रस्ताव गरेका छाँै । त्यसका लागि पनि निर्णय गर्नुपर्छ । त्यस्तै विभिन्न चरणमा इन्डक्सन चुल्हो प्रयोग गर्ने मध्यमवर्गीय उपभोक्ता छन् त्यसलाई पनि सस्तो पर्ने गरी प्रस्ताव गरिएको छ । विद्युतीय सवारी प्रयोग गर्नेका लागि जति धेरै प्रयोग ग¥यो, त्यत्ति नै कम विद्युत् महसुल लाग्ने प्रस्ताव गरिएको छ । विगतमा जति बढी प्रयोग ग¥यो, उत्ति नै महसुल बढी लाग्ने अवस्था थियो, किन त भन्दा हामीसँग विद्युत् नै कम थियो । अहिले धेरै प्रयोग गरोस् भनेर शुल्क निर्धारण गरेर पठाएका छौँ । सामान्य अवस्था भएपछि आयोगले हेर्छ भन्ने नै हाम्रो विश्वास हो ।

प्रोत्साहन गर्न वा प्रेरित गर्न त्यो व्यवस्था गर्न सकिन्छ । प्राधिकरण त विद्युत् उत्पादन, प्रसारण तथा वितरण गर्ने संस्था पनि भएकाले त्यसबाट बहकिन्छ कि भन्ने अवस्था पनि छ । प्राधिकरणले चुल्हो, बल्ब वा अर्को सामग्री पनि बेच्नेभन्दा त, अरुले के गर्ने भन्ने अवस्था पनि आउन सक्छ । मूल जिम्मेवारीबाट नबहकिओस् भन्ने नै हो । बरु सहयोगी संस्था छन् त्यसलाई प्रोत्साहन गर्नु पर्छ । जस्तै सामुदायिक विद्युत् उपभोक्ता महासङ्घ, वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रलाई प्रेरित गरिएको छ । प्राधिकरणका यूनियनका साथीले हामी सहजीकरण गर्छौ भनेर प्रस्ताव नै ल्याउनुभयो । कुनै वैकल्पिक कम्पनी बनाएर गर्न सकिन्छ भनेर गर्नुस् भनेर स्वीकृति नै दिइएको छ । उहाँहरुले कम्पनीबाट गर्न खोज्नुभएको छ । एउटै संस्थाले भन्दा पनि चौतर्फी रुपमा हस्तक्षेप गरेर जाने भन्ने भएको छ । नीति, कार्यक्रम, व्यवहारमा पनि प्रेरित गर्नेतर्फ हामी लागेका छौँ ।

मन्त्रालयले पहल गरेर नै उच्चस्तरीय समितिमा छलफल भएर यस्तो खालको निर्णय भएको हो । ठूला आयोजनामा काम गर्ने भन्ने छ । विद्युत् आयोजना मात्र नभई, अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएको छ । त्यसमा पहिलो कुरा काम गर्ने श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ । अरु नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल यूनिट रहनै पर्ने व्यवस्था गरिएको छ । यति भयो भने काम गर्न दिने भनेका छौँ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका माथिल्लो तामाकोशीलगायत आयोजना हामीले सञ्चालन गरिरहेका छौँ । निजी क्षेत्रले पनि लिखु, सोलुतिरका आयोजना, मेलम्ची खानेपानी आयोजना पनि सञ्चालनमा ल्याएका छन् । ती आयोजनाका लागि निर्माण सामग्री आयातमा समस्या भएको छ । त्यसलाई समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने, सामग्री लिएर फर्कने व्यवस्था गरेका छौँ । निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउने जस्तो विकृति देखिएपछि सिमितलाई पास दिएर निर्माण सामग्रीको आयात गर्न दिने व्यवस्था गरिएको छ । चलिरहेको आयोजनाको निर्माण सामग्री पनि छ, मजदूर पनि छन् । त्यसलाई सहज रुपमा चलाउन दिने तर निर्माण सामग्री आयातलगायत लागि जाँदा सङ्क्रमण हुन सक्ने खतरा पनि रहेकाले त्यसलाई पनि विचार गरेर नै आवश्यक व्यवस्था गर्ने भन्ने भएको छ । निर्माण पनि चलिरहोस् तर सतर्कता पनि अपनाउने पनि भन्ने भएको छ ।

माथिल्लो तामाकोशीमा भूकम्पपछि निर्माण दुई वर्ष रोकियो । कुनै आयोजनाको काम सरासर भयो, त्यो समयमै पूरा हुन्छ । हुन सकेन भने त्यसमा केही जटिलता पैदा हुन्छ । काम ठिकै भइरहेको थियो । सो आयोजनामा सरकारको मात्रै लगानी नभई अब त लाखौँ नेपालीको समेत लगानी छ । सो आयोजनामा सरसर्ती हेर्दा, के कमजोरी देखियो भने सस्तो भनेर देखाउन आयोजनाका सम्बद्धले लागत मात्रै देखाइदिए । यो देखाइएन कि निर्माणको क्रममा झण्डै रु ३० अर्ब जति व्याज लाग्छ भन्ने । थप भूकम्पले गर्दा लागत बढ्न गयो, महँगी बढ्यो, व्याज बढ्यो । जसका कारण लागत बढेर झण्डै रु ७० अर्बको हाराहारीमा पुगेको छ । त्यसो भएपछि मानिसले आयोजनामा लागत बढ्यो, भ्रष्टाचार भयो, छानबिन हुनुपर्छ भनेर प्रश्न समेत उठाए । त्यसखालको अवस्था जनतालाई बताउन नसक्दा अस्पष्टता पैदा भएको हो । अधिकांश आयोजनामा शुरुमा लागत मात्रै देखाइन्छ र व्याजको विषय देखाइँदैन । यसको लागत पहिल्यै रु ६५ अर्ब जतिको हो । यसमा आयोजनाले स्पष्ट गर्न नसकेको अवस्था छ । आयोजनामा सिभिल काम सकियो, गेटलगायतका केही काम बाँकी थिए । त्यसमा पनि विशेष गरी दुई वटा ठाडो सुरुङको काम बाँकी थियो । त्यसमा टेक्सम्याको भन्ने भारतीय कम्पनीले ठेक्का लिएको छ । वर्तमान सरकार गठन हुने बित्तिकै प्रधानमन्त्री र म समेत त्यहाँ पुगेका थियौँ । आयोजनाका पदाधिकारीलगायतले यसै आर्थिक वर्षमा सकिन्छ भनेका छन् तर कामको छाँटकाँट छैन । केही स्थानमा मैले त्यो विषय समेत भने तर पछि हेर्दा त अवस्था त्यस्तो थिएन । हामी छिटो सकाउँछौँ भनेर दोस्रो साल पनि नीति तथा कार्यक्रम र बजेटमा समेत राखियो तर काम भएन । फेरी आयोजनाका सम्वद्ध अधिकारीले एक वर्ष म्याद थप गर्नुपर्छ भन्न थाले, पछि अवस्था ठिक नदेखिएपछि मैले भर्टिकल साफ्टको ठेकेदारको सम्झौता खारेज गरेर तुरुन्त जवाफ दिनुस् भने । सरकार र पैसाको जनतामा खेलबाड गर्न पाउनुहुन्न भने । ठेकेदार, परामर्शदातालगायत बसेर छलफल गर्दा निष्कर्ष के आयो भने यो आर्थिक वर्ष्भित्र सकिँदैन भन्ने आयो । यो गत सालको कुरा हो । पहिलो आर्थिक वर्ष नै सकाउने भनिएको थियो । अवस्था गतिलो नभएपछि छलफलको क्रममा एन्ड्रिजले गर्न सक्छ त भन्दा सक्छु भन्यो । अप्ठ्यारो पार्ट दिन्छौँ भन्ने निकर्ष निकालियो । तल्लो अप्ठ्यारो ठाडो सुरुङ केही समयभित्र सकिन्छ । माथिल्लो चाही, भारतीय कम्पनीले गर्दैछ । तैपनि म केही समय पहिले त्यहाँ पुगेर आए । यसै आवको अन्त्यसम्म सक्छाँै भन्ने देखिएको छ । ठूला आयोजनामा पारदर्शीताको समस्या रहेछ । मन्त्री एवम् राजनीतिक नेतृत्वलाई त सबै कुरा थाहा हुँदैन । मेलम्चीमा पनि त्यही भयो । यो आर्थिक वर्ष्भित्र हुन्छ भन्यो, राष्ट्रपतिबाट बोल्न लगायो, बजेटमा राख्यो, तर काम भने नहुने अवस्था देखिएको छ । अनि जिम्मा भने राजनीतिक नेतृत्वमा नै आउँछ । यो आर्थिक वर्षमा कम्तीमा पनि एउटा यूनिट चल्ने गरी काम पूरा हुन्छ । भदौ असोजसम्ममा सबै यूनिट चल्ने गरी काम भइरहेको छ । ठूला आयोजनाका जिम्मेवार व्यक्तिले तथ्यमा रहेर काम गर्नुपर्छ । गत वर्षदेखि हरेक महिना नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक जो माथिल्लो तामाकोशीको अध्यक्ष पनि हो, उहाँलाई त्यहाँ गएर बैठक बस्ने र समस्या समाधान गर्ने जिम्मा दिइएको छ । हाल अहिले काम ठिकै राम्रो भइरहेको छ ।

हामीले माथिल्लो तामाकोशी ४५६ मेगावाट सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । निजी क्षेत्र र साञ्जेन र रसुवागढी जस्ता आयोजना सम्पन्न गर्ने लक्ष्यका राखेका हौँ । लकडाउनका कारण के कस्ता असर पर्न जान्छ भनेर हामीले हेरिरहेका छौँ । स्वभाविक रुपमा असर त परिसकेको छ । एक महिना लकडाउन हुँदा त्यसको असर दुई/तीन महिना गई नै हाल्छ । त्यसो गर्दा समस्या भएको छ । तैपनि कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर कोशिस गरिरहेका छौँ । निजी क्षेत्रलाई पनि सहजीकरण गरेर लैजान प्रयत्न गर्छौँ ।

जलविद्युत् क्षेत्र मात्रै नभई समग्र क्षेत्रको नै हामी छलफल गर्छौँ । के कस्ता क्षति भए भनेर निष्कर्ष पनि निकाल्छौँ । समग्र अर्थतन्त्रमा नै क्षति पुगेको छ । समग्र सामाजिक क्षेत्र, व्यक्ति व्यक्ति र घर घरमा समेत असर पुगेको छ । अपूरणीय क्षति पुगेको छ । व्यक्ति व्यक्तिको क्षतिलाई कसले लिने छ । जस्तो बैंकको व्याजलाई रिसेड्यूलिङ गर्ने, रिफाइनान्स गर्नेजस्ता विषयमा हामी काम गर्छौँ । जलविद्युत् क्षेत्रमा देखिने र देखिन सक्ने अनेकन खालका समस्या हामी समाधान गर्छौँ ।

हो, उनीहरुको समस्या हेर्नैपर्छ । समाधान गर्नै पर्छ । निजी क्षेत्रले पनि केही व्योहोर्नुपर्छ, राज्यले मात्रै सबै सक्दैन । नीतिगत, कार्यक्रमिक रुपमा तथा आर्थिक रुपमा के कस्ता राहत दिने हो, त्यो गर्नैपर्छ । केही विषय सम्बोधन गर्नैपर्छ ।

म मन्त्री भएदेखि नै मेरो काउण्टर पार्टहरुसँग छलफल गर्दै आएको थिए । विशेष गरी भारत र बङ्गलादेशसँग । विद्युत् व्यापारका लागि । बढी उत्पादन भए विद्युत् कहाँ लैजाने त भन्ने छ । हामीमा सिजनल विविधता छ । वर्षामा धेरै उत्पादन हुन्छ, तर हिउँदमा धेरै चाहिन्छ । वर्षामा धेरै विद्युत् भारत र बङ्गलादेशमा धेरै चाहिन्छ तर हिउँदमा हामीलाई बढी चाहिने अवस्था छ । वर्षामा बढीभन्दा बढी विद्युत् निर्यात गर्नेतर्फ लागेका छौँ । इनर्जी बैंकिङमा भारतसँग सैद्धान्तिक सहमति भएको छ तर व्यवहारिक रुपमा लैजान केही जटिलता छ । भारतमा त्यस्तो खालको व्यवस्था नभएपछि हामीले मूल्यको आधारमा केही गरौं न त भनेर प्रस्ताव गरेका छौँ । हाम्रो बढी भए हामी दिन्छौँ, हामीलाई आवश्यक पर्दा हामी ल्याउँछौँ । मूल्यका आधारमा लिएर गरौँ भन्ने भएको छ । मन्त्री, सचिवसँग भएको कुराकानीका आधारमा सबैभन्दा राम्रो वातावरण भएको छ । केही समय पहिले नेपाल आउनु भएका भारतीय ऊर्जा सचिवलाई पनि मैले तत्कालै यी विषयमा प्रष्ट निर्णय गरिदिन आग्रह गरे । उहाँले फर्केको १५ दिनभित्र आवश्यक निर्णय गर्ने बताउनुभएको थियो । नभन्दै सचिवज्यू फर्केपछि मेरो मन्त्रीसँग पनि कुराकानी भयो । भारतको ऊर्जा मन्त्रालयले निर्णय गरिसकेको छ । दिन दिनैको विद्युत् व्यापारका लागि मार्ग प्रशस्त भएको छ । हामीले पनि किन्न सक्ने वा बेच्न पाउने । भारतमा १५ मिनेटको पनि विद्युत् खरीद बिक्रीको व्यवस्था छ । हामी भारतीय बजारमा प्रवेश पाएका छौँ । कोरोनाको प्रभाव कम भएपछि लागू हुन्छ । नेपालबाट हामीले विद्युत् प्राधिकरणलाई नै जिम्मेवार निकायको रुपमा तोकेका छौँ । भारतमा एनभिभिएन छ । प्राधिकरण र सो कम्पनीबीच सम्झौता पनि भएको छ । हामी विद्युत् दिनैदिनै बेच्न र किन्न पनि सक्छौँ । सबैभन्दा ठूलो उपलब्धि भएको छ, यसबीचमा । वैकल्पिक अन्तरदेशीय प्रसारण लाइनको रुपमा रहेको बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढेको छ । सो प्रसारण लाइनबाट २५०० मेगावाटसम्म विद्युत् बिक्री गर्न सकिन्छ ।

नयाँ विद्युत् ऐन तयार भएर मन्त्रिपरिषद्मा गएको छ । संघीय संसद् खुल्ने बित्तिकै त्यो विधेयक प्रक्रियामा जान्छ । निजी क्षेत्रले पनि गर्न सक्छ, तर सरकारको अनुमति लिएर गर्न सक्छ । भारतीय र बङ्गलादेशको बजारमा जान सक्छ । कुनकुन शर्तमा जाने भन्ने स्पष्ट गर्नुपर्छ । हामी २५ वर्षलाई पिपिए गर्छौँ । भारतीय र बङ्गलादेशमा दीर्घकालीन पिपिए हुँदैन । हामी नीतिगत व्यवस्था गर्न लागेका छौँ ।

केही आयोजनामा प्रभाव परेका छन् । काम गर्नुभन्दा पनि निर्माण व्यवसायीले पनि काम गर्न सक्ने अवस्था छैन । राष्ट्रिय गौरवका आयोजना सञ्चालन होऊन् भनेर नै हामीले प्रेरित गरेका छौँ । भेरी बबई डाइभर्सन, बबई, रानीजमरा, सिक्टा सिँचाइ आयोजना, सुनकोशी–मरिण आयोजना छन् । ती आयोजनाको काम भइरहेको छ तर सोचे अनुसार भइरहेको छैन । लकडाउनको प्रभाव परेको छ । खतरा कम भएको अवस्थामा काम गर्न छुट दिइएको छ । थप आर्थिक वर्षदेखि तमोर, चिस्याङ, माडी–दाङ, कालीगण्डकी–तिनाऊ डाइभर्सन आयोजना अगाडि बढाउने तयारीमा छौँ । जसले तराई मधेशमा सिँचाई सुविधा पु¥याएर खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौँ ।

हो, गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतले फरक मत राख्नुभएको छ । हामीले सङ्घबाट हेर्दा त समग्रमा नै हेर्छौँ । त्यहाँ कालीगण्डकी तिनाऊ, गण्डक पनि छ, नारायणी नदीमा जल यातायातको अध्ययन पनि भएको छ । बूढीगण्डकी बनेको अवस्थामा त जलयातायातका लागि पानीको थप उपलब्धता हुन्छ । अर्कोतर्फ कालीगण्डकी जलाशययुक्त आयोजना गर्दैछौँ । वर्षामा पानी जम्मा हुने र हिउँदमा तल्लो तटमा सिँचाइ पनि हुने र अन्य काममा समेत प्रयोग गर्न सकिन्छ । कालीगण्डकी तिनाउ पनि हुन्छ, गण्डक पनि चल्छ, जलयातायात पनि चल्छ । गण्डकी वेसिनमा पानीको अभाव हुँदैन । उस्तै पूर्वमा दुधकोशी, तमोर, सुनकोशी जस्ता आयोजनाले पानी कम हुन दिँदैनौँ ।

लकडाउनको समयमा पनि आफ्ना विषय राख्ने मौका दिनुभएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मन्त्रीको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु । राज्यका संयन्त्रहरु बलिया हुनुपर्छ भन्ने अवस्थाले देखाएको छ । कोरोनाले विश्व जगतलाई नै एक प्रकारको शिक्षा दिएको छ । हामीले शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सरकारको विशेष लगानी रहनुपर्छ भन्ने अवस्था देखिएको छ । रासस 

Exit mobile version