काठमाण्डौ/
पोखरा पर्यटन परिषद्ले पर्यटकीय नगरी पोखरामा पटक–पटक विद्युत् अवरुद्ध हुँदा समस्या परेको जनाएको छ । परिषद्ले नियमित विद्युत् आपूर्तिको मागसहित विद्युत् प्राधिकरण कार्यालय मालेपाटनमा ध्यानाकर्षणसमेत गराएको छ ।
परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले प्राधिकरण मालेपाटन शाखाका प्रमुख जितेन्द्र यादवलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्रमा पोखराको लेकसाइड, ड्यामसाइडलगायत पर्यटकीय क्षेत्रमा विद्युत् अनियमित हुँदा होटल, रेस्टुरेन्ट तथा रिसोर्टमा प्रत्यक्ष असर परेको र पर्यटकलाई दिने सेवासमेत प्रभावित हुने गरेको उल्लेख छ ।
पोखरा सफाइ अभियानअन्तर्गत लेकसाइड र ड्यामसाइड क्षेत्रभित्रका अनावश्यक खाडल तथा बाटोमा छरिएका तार हटाउने व्यवस्था मिलाई नियमित विद्युत् आपूर्तिका लागि पहल गरिदिन परिषद्ले माग गरेको छ ।

