• औँसी तिथीमा खण्डग्रास सूर्यग्रहण, आज के गर्ने, के नगर्ने ?

    December 25, 2019     11:26 pm

    हिन्दू धर्म अनुसार आज बुधबार र भोलि बिहिबार दुई दिन औँसी तिथि परेको छ । बिहिबार बिहान खण्डग्रास सूर्यग्रहणसमेत लाग्ने भएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले पौष कृष्ण अमावास्या (औँसी) का दिन विभिन्न तीर्थस्थलमा विधिपूर्वक तर्पण, सिधादान र पिण्डदान गरी दिवङ्गत पितृप्रति सम्मानभाव प्रकट गर्दैछन् । बुधबार नै पौषकृष्ण आमावास्या पर्ने भएकाले तीर्थ श्राद्ध गर्नुपर्ने भएपनि ग्रहणमा गरिने श्राद्ध भने बिहिबार नै गर्नुपर्ने जनाइएको छ ।

    धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार पौषकृष्ण अमावास्याका दिन तीर्थमा श्राद्ध गर्ने शास्त्रीय विधान रहेको छ । समितिका अनुसार तीर्थ श्राद्ध पनि सोह्रश्राद्धमा गरेजस्तै पार्वण विधिले गर्नुपर्ने धार्मिक विधान छ । “यसपटक प्रत्येक वर्ष नियमित पौषकृष्ण अमावास्याका दिन तीर्थमा गई श्राद्ध गर्नेले मात्र गर्नुपर्छ, गत मङ्सिर २८ गते शनिबार पश्चिमबाट वृहस्पति (गुरु) अस्ताएकाले यसअघि तीर्थ श्राद्ध नगरेका नयाँले तीर्थमा गई श्राद्ध गर्नुहुँदैन, पुस २४ गते पूर्वबाट वृहस्पति उदय हुनेछ”, अध्यक्ष गौतमले भने ।

    वृहस्पति र शुक्र अस्त भएका बेला नगएको तीर्थमा जानु नहुने, दर्शन नगरेको देवताको दर्शन गर्न नहुने शास्त्रीय मान्यता छ । यसैगरी साइत जुराएर गर्नुपर्ने कतिपय धार्मिक कर्म पनि गुरु एवं शुक्र अस्त भएको समयमा गरिँदैन । यस अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थित कालीगण्डकीतिरको देवघाटधाम, गुल्मी र पाल्पाको सङ्गम रिडी, मुस्ताङको कागबेनीलगायत तीर्थस्थलमा पनि तीर्थ श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।

    ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उनले बताए । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

    ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहनुभएका गौतमले बताए । । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ ।

    ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ । शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

    यसै पनि ग्रहण संक्रमणकारक हुन्छ । यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ नै त्यसमाथि यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ । साथै सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउनसक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरित फलको भय हुने ज्यो. सुवेदीको भनाइ छ । सूतककालको समयमा खानपिन, सुत्ने र पूजा गर्ने लगायतका कामहरू गर्न नहुने बताइएको छ । गर्भवती महिलाहरूले पनि आफ्नो विशेष ख्याल गर्नुपर्छ । वरिपरी कुनै धारिलो वस्तु राख्न हुँदैन । मन्दिर पनि सूतककाल सकिएपछि मात्र खोलिन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।