जीवनयोग प्रयोगशालाको आयोजनामा विशेष सत्संगको तयारी
April 2, 2019 7:52 pm
पोखरा,१९ चैत ।
जीवनयोग प्रयोगशाला पोखराको आयोजनामा यही चैत २१ गते पोखरामा विशेष सत्संग हुने भएको छ । विहान ७ देखी ९ बजेसम्म सिर्जनाचोकस्थित साईमन पार्टी प्यालेसमा आयोजना गरिएको सो कार्यक्रममा जीवन विकास विशेषज्ञद्धय गुरुदेव एलपि भानु शर्मा र रमेश नेपालको उपस्थिति रहने जीवनयोग प्रयोगशालाका अध्यक्ष गुणाखर सापकोटाले जानकारी दिए । हाल प्रयोगशालामा दैनिक ४० देखी ५० जनाको संख्यामा उपस्थिति रहदै आएकोमा सो दिन करीब ३ सयको सहभागिता रहने बताईन्छ । योग, व्यायाम र ध्यानको माध्यमबाट स्वस्थ शरिरको निर्माण गर्दै सुख, शान्ति र समृद्धि हासिल गर्ने उद्धेश्यले वि.स. २०६७ मा जीवन विज्ञानको स्थापनासँगै देशका सातवटै प्रदेशमा गरी ६३ केन्द्रमा दैनिक योग, ध्यान र व्यायाम हुने गरेको बताईन्छ । ‘प्रत्येक व्यक्तिभित्र बीज रुपमा रहेको आत्मविश्वास, स्वास्थ्य, नेतृत्व, समृद्धि र सफलताको सम्भावनालाई साकार पार्नु जीवन विज्ञानको उद्धेश्य हो।’ सापकोटाले भने । गण्डकी प्रदेशका पोखरा, दमौली,नवलपरासी र स्याङ्जामा पनि प्रयोगशाला स्थापना गरिएको छ । मानिसमा स्वास्थ्य सम्वधि सचेतना बढाउँदै ध्यान र प्राणायमको माध्यमबाट शारीरिक र मानसिक स्वस्थता हासिल गर्न सघाउने जीवनयोगको उद्धेश्य रहेको छ । ‘व्यायाम र ध्यान शहरमा बढी आवश्यक छ । गाउँमा व्यायाम आवश्यक छैन तर शहरी जनसंख्यालाई ध्यानकासाथसाथै व्यायाम पनि आवश्यक छ । त्यस भएर यसको महत्वलाई तलैसम्म बुझाउन कार्यक्रम आयोजना गरेका हौँ।’ प्रयोगशालाका सदस्य गंगालाल पोखरेलले भने ।