• पाेखरा अन्तराष्ट्रिय विमानस्थल : एउटै एयरपाेर्टका लागि कति पटक विस्थापित हुने ? थप जग्गा नदिने चेतावनी

    December 12, 2019     10:13 pm

    २६ मंसिर, पोखरा । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहरण गरेको वर्षौसम्म पनि काम सुरु नभएको भन्दै पोखरेलीहरुले थुप्रै पटक आन्दोलन गरे । विमानस्थल निर्माण थाल्न माग गर्दै अनसन धर्ना लगायतका दबावमूलक आन्दोलन भयो । स्थानीयबासीको दबाव, राजनीतिक नेतृत्वको जोडबल सबै मिलेपछि २०७३ साउन १८ गते विमानस्थल निर्माणको शिलान्यास भयो र अहिलेसम्म ५२ प्रतिशत काम नै सकिइसकेको छ ।

    तर आन्दोलन भने टुंगिएको छैन । अहिले सुरु भएको आन्दोलन भने जग्गा अधिग्रहणको विरोधमा छ । ३ मंसिरमा मन्त्रिपरिषदको बैठकले पोखरा क्षेत्रीय विमानस्थलका लागि थप १ सय ४८ रोपनी जग्गा र १६ घर टहरा अधिग्रहण गर्ने निर्णय गरेको थियो । विमानस्थलका निम्ति उपहरणसहित ग्लाइड पार्क निर्माण गर्न नागरिक उड्डयन प्राधिकरणले ५८४ रोपनी जग्गा र ६३ घरटहरा अधिग्रहण गर्न माग गरेको थियो, जसमध्ये तत्कालका लागि १८४ रोपनी जग्गा र १६ घरटहरा अधिग्रहण गर्ने अनुमति दिइएको छ । तर एउटै अयोजनाका निम्ति पटक–पटक अधिग्रहण गरेर दुःख दिने काम भएको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले जनसरोकार समिति नै बनाएका छन् ।

    समितिले बिहीबार पत्रकार सम्मेलन गरी पटक पटक जग्गा अधिग्रहण गरेर आयोजनाले पुर्खौंदेखि बस्दै आएका बासिन्दालाई सुकुम्बासी बनाउन खोजेको बतायो । ‘सरकारले एउटै आयोजनाका निम्ति ४/५ पटकसम्म एउटै परिवारलाई विस्थापित गराएर बिल्लीबाठ गराउने काम गर्‍यो,’ जनसरोकार समितिका अध्यक्ष गनेस पौडेलले भने, ‘विमानस्थल आसपासका कुनै पनि घर एक पटक विस्थापित नभएका छैनन् । कुनै २ पटक होलान्, कुनै ४ पटक । एउटै परिवार कति पटक बिस्थापित हुने ?’

    लगातार उठीबास, अन्यायपूर्ण मुआब्जा ! विमानस्थलका निम्ति यति जग्गा चाहिन्छ भनेर एकै पटक अधिग्रहण नगर्दा आफूहरु सुकुम्बासी बन्नु परेको स्थानीयबासी बताउँछन् । अघिल्लो वर्ष ऋण काढेर बनाएको घर अर्को वर्ष भत्काउनुपर्ने परिस्थिति सरकारले सिर्जना गरेको अध्यक्ष पौडेलले बताए । २०३२ सालदेखि पटकपटक बिस्थापित हुँदै आएका स्थानीयलाई सरकारले उठीबास गराउने गरी अहिले फेरि अर्को पटक अधिग्रहण गर्न लागेको चेतबहादुर खत्रीले बताए । ‘२०३२ सालमा पहिलो पटक विस्थापित भयौं । २०७१ सालमा फेरि दोस्रो पटक विस्थापित भयौं । अब त अलि पर बनाउँछु भनेर घर बनाएँ, अहिले फेरि तेस्रो पटक विस्थापित हुने भयौं,’ खत्रीले भने, ‘अब कसरी घर बनाउने, कसरी जीवन गुजार्ने ?’

    असमान मुआब्जा निर्धारणका कारण ७ परिवारले अहिलेसम्म सास्ती खेप्नु परेको रामचन्द्र कार्कीले बताए । मुआब्जा लिन नमानेका ७ घरपरिवारलाई सट्टामा जग्गा दिने भनिए पनि पाएको भन्दै उनले भने, ‘न सट्टामा जग्गा पायौं, न क्षतिपूर्तिसहित मुआब्जा ।’ घरको मुआब्जा दिँदा मूल्यह्रास प्रणाली लागू नगर्न र आवासको सट्टामा आवासको निर्माण हुन पुग्ने रकम दिनुपर्ने स्थानीयको माग छ । ‘घरपैंचो गरेकै दिन ल तपाईंको घर अधिग्रहण हुँदैछ भनेर खबर आउँछ । मान्छेको हालत कहाँ पुग्छ ? ५० लाखमा किनेको घडेरीमा बैंकले ३० लाख लोन दिन्छ, तर राज्यले मूल्यांकन गरेर २५ लाख मुआब्जा तोक्छ । यस्तो अन्यायपूर्ण अवस्था छ,’ अध्यक्ष पौडेलले भने ।

    ६ हजार रोपनी जग्गाले सिञ्चाइ पाएन एक समय पोखराकै हिरा मानिने मझेरीपाटनको जग्गा जग्गा अहिले कौडीको भाउमा पुगेको स्थानीयबासीको गुनासो छ । पोखराकै खेती उब्जनी हुने र हरियाली ठाउँ अहिले सिँचाइ अभावले सुख्खा बन्न लागेको प्रभावित क्षेत्रका वासिन्दाले बताएका छन् ।

    विमानस्थलकै कारण मझेरीपाटन, कन्ननिडाँडा आसपासका ३ वटा नहर सखाप पारेर ६ हजार रोपनी जमिन बाँझो हुने अवस्थामा रहेको वडा नम्बर १४ का वडाध्यक्ष प्रेमबहादुर भट्टराई नै बताउँछन् । विमानस्थलकै कारण नहर पुरिएर मर्का परेर ध्यानाकर्षण गराउँदा पनि स्थानीयको मागप्रति बेवास्था गरिएको उनको भनाइ छ । जनसरोकार समितिले खेतीयोग्य जमिन बाँझो राख्नुपर्ने अवस्था आइपरेकाले सिँचाईँको विकल्प वा कृषि उपजमाथि क्षतिपूर्ति दिन माग पनि अघि सारेको छ ।

    सिँचाइ नहर बिमानस्थलले पुरेपछि बर्खाको भलको भरमा रोपाइँ गरिएको स्थानीयको भनाइ छ । मझेरीपाटन, छिनेडाँडा पोखराको पुरानो गाउँमध्ये पर्ने र गाउँको कम्तीमा २ सय वर्षको इतिहास रहेको भन्दै पौडेलले भने, ‘यति लामो इतिहास बोकेको गाउँको सामाजिक, धार्मिक, आर्थिक इतिहास एयरपोर्टकै कारण निमिट्यान्न भएको छ ।’ – अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।