• मानिसहरु फेशनका बारे सचेत बनेका छन्

    March 31, 2019     9:16 pm


    सरस्वती गुरुङ्ग
    प्रबन्ध निर्देशक
    इन्टरनेशनल फेशन कलेज, पोखरा

    आइएफसीको स्थापना कहिले भएको हो ?
    यसको स्थापना सन् २०१२ सालमा भएको हो । पहिले हामीले आइ.इ.सी भनेर सञ्चालन गरेका थियौं । यो २००८ सालमा सञ्चालनमा ल्याएका थियौं । त्यसपछि अझ परिस्कृत र परिमार्जन गर्दै आइएफसी सम्म आइपुगेका हौं ।

    फेशन डिजाइनिङबारे पहिले र अहिले के फरक पाउनुभएको छ ?
    पहिलेको तुलनामा त अहिले धेरैनै परिवर्तन आइसकेको छ । शुरुमा हामीले आइ.इ.सी चलाउने बेलामा निकै गाह्रो ङ्गभएको थियो । मानिसलाई फेशन भनेको के हो भनेर बुझाउन नै कठिन थियो । समाजमा फेशन भन्ने वित्तिकै नकारात्मक सोच्ने समय पनि थियो । छोटो लुगा लगाउनेलाई फेशन बुझ्ने एकदम गलत बुझाइ थियो । समय अनुसार अहिले मानिसको सोचाइमा पनि परिवर्तन आएको छ । अहिले फेशनको बारेमा बुझाउन त्यति गाह्रो छैन । फेशनलाई बुझेर आउने धेरै छन् ।
    यो कस्तो खालको पेशा हो ?
    फेशन डिजाइनिङ एउटा रचनात्मक र सृजनात्मक पेशा हो । सुन्दर देखिने सबैको चाहना हुन्छ । सुन्दर अनि अरु भन्दा पृथक देखिने सबैको इच्छा हुन्छ । फेशन डिजाइनिङ व्यक्तित्वसंग पनि सम्बन्धित छ । मानिसले कस्तो गेटअप गरेको छ भन्ने कुराले पनि उसको व्यक्तित्वको वर्णन गरिरहेको हुन्छ । त्यसैले यो मानिसलाई उनीहरुको चाहना मुताविक उनीहरुको व्यक्तित्व सुहाउदो पहिरन लगाउन सुझाउने सृजनात्मक पेशा हो । यसले आयआर्जनका साथै आफुमा भएको क्षमतालाई पनि उजागर गर्ने मौका प्रदान गर्छ ।

    तपाई यो क्षेत्रमा कसरी प्रबेश गर्नुभयो ?
    म एउटा सामान्य गृहिणी थिएँ । एकजना दिदीले सिलाईबुनाइ तालिम लिनुभएको थियो । उहाँले सिलाउनुभएको कपडा देखेर आफुलाई पनि त्यस्तै बन्न मन लाग्यो । समय पनि थियो । फुर्सदको समयलाई उपयोग गर्नु पनि थियो । त्यसैले आइ.इ.सीमै मैले फेशन डिजाइनिङको तालिम गरें । काठमाण्डौमा एडभान्स लेभलको कोर्ष पनि पुरा गरें । म होम साइन्सको बिद्यार्थी भएको कारणले पनि सिलाईमा मेरो पहिलेदेखि नै रुची थियो । सिलाई गर्न आउथ्यो पनि । पछि आफैले डिजाइन गरेर कपडा सिलाउन सक्छु भन्ने आत्मविश्वास पलाउन थाल्यो । अनि फेरी आफुले मात्रै जानेर हुँदैन म जस्ता अरुधेरैलाई यो विषयमा ज्ञान बाँड्नुपर्छ भन्ने लागेर यो क्षेत्रमा आएको हुँ ।

    तपाईले सिक्ने बेला फेशन डिजाइनिङ सिक्नुपर्छ भन्ने वातावारण थियो ?
    विल्कुलै थिएन । मैले अघि पनि भने फेशनको गलत परिभाषको कारण समस्या थियो । फेशनलाई संकुचित मानसिकताबाट हेरिन्थ्यो । डिजाइनिङ सिक्दा टेलरिङ सिक्दैछु भनेर पनि सिक्नुपथ्र्यो ।
    तालिमका लागि कुन समुहहरु बढी आँउछन् ?
    यो क्षेत्रमा प्राय महिला नै बढि सक्रिय हुने हुँदा तालिमका लागि पनि महिलानै आउने गर्नुुहुन्छ । विशेषगरि गृहिणी, स्वरोजगार बन्न चाहनेहरु, बुटिक व्यवसाय सञ्चालन गर्न चाहनेहरु, विद्यार्थीहरु तथा विदेश जानेहरु पनि यो तालिममा सहभागी हुन्छन् ।

    महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमले कस्तो भुमिका खेल्छ ?
    पोखराका अधिकाँश बुटिकहरु हामीकहाँ तालिम लिएर पोख्त बनेका विद्यार्थीहरुले नै सञ्चालन गरिरहेका छन् । यसले प्रमाणित गर्छ डिजाइनिङको महत्व । यो तालिमको महत्व । स्वरोजगार मात्रै होइन । आत्मनिर्भर मात्रै होइन । यसले रोजगारीको अवसर पनि सृजना गरिहेको छ । हामीले यो एक दशकमा ४ सय देखि ५ सय जना विद्यार्थीहरुलाई तालिम दिइसकेका छौं । सबैले आफ्नो किसिमले आफ्नो लागि यहि पेशा गरेर कमाउने भएका छन् ।

    तालिम पछि रोजगारीको अवसर सृजना हुन्छ ?
    अवश्य । यहाँ तालिमका लागि आउने धेरै त आफैले घरमै बसेर बुटिक सम्बन्धि काम गर्ने उद्देश्यले आएका हुन्छन । यदि त्यस्तो नभएको खण्डमा पनि हामीले रोजगारीको अवसरहरु देखाउने गरेका छौं ।

    आइएफसीको मुल विशेषता केहो ?
    म ढुक्कका साथ भन्न सक्छु । हामीले भरपर्दो शिक्षा दिन्छौं । कोर्ष जतिसुकै महिना वा वर्षको भए पनि विद्यार्थी पोख्त नभए सम्म हामी उनीहरुलाई सिकाइको चरणमै राख्ने गर्छौ । फेशन डिजाइनिङमा हुनुपर्ने हरेक कुरालाई हामीले उपलब्ध गराएका छौं । विद्यार्थीहरु यहाँ आइसकेपछि हामी उनीहरुको इच्छा र चाहना मुताविक कोर्षहरु सिकाउने गर्छौ । यहाँ आएर सिक्ने सबै विद्यार्थी सन्तुष्ट बनेर गएका छन् । विद्यार्थीको प्रगति विवरण हेर्नका लागि हामीले ३–३ महिनामा डिजाइनिङ सम्बन्धि कार्यक्रमहरु पनि गरिरहेका हुन्छौं । यस्तै परिक्षा पनि लिइरहेका हुन्छौं । यसका अलावा नेपाल तथा भारतका अनुभवी डिजाइनरलाई बोलाएर पनि अहिले को फेशन ट्रेण्डका बारे तालिम प्रदान गरिरहेका हुन्छौं ।

    कस्तो कस्तो कोर्षहरु रहेका छन् ?
    हामीले महिलाका लागि चाहिने कोर्ष प्रदान गर्ने गरेका छौं । बेसिक, डिप्लोमा र एडभान्स कोर्षहरु हामीले सञ्चालन गरिरहेका छौं ।

    यसको सम्भावना कस्तो छ ?
    यसको बजार र सम्भावना प्रचुर छ । आजको जमानामा फेशनको हो । यो सबैकालागि आवश्यक छ । पोखरामा खुलेका बुटिक हेरेर पनि थाहा पाउन सक्छौ । यसको सम्भावना धेरै छ । घरमै बसेर नै काम गर्न सकिन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।