• साँइली : रैथाने स्वादमा अर्गानिक कथा

    March 31, 2019     8:38 pm

    सन्जय मल्ल

    कबड्डी सिरिजबाट नेपाली सिनेमा उद्योगमा आफ्नो दमदार उपस्थिती देखाएका निर्देशक रामबाबु गुरुङ्गले एकपटक फेरि आफुलाई प्रमाणित गरेका छन् । अर्गानिक कथामा रैथाने स्वाद भर्न खप्पिस निर्देशक गुरुङ्ग साँइली मार्फत पुनः आफुलाई उम्दा सावित गरेका छन् । सिनेमा होस् वा संगीत, परिकार होस् वा भेषभुषा । सुहाउने अनि रमाउने भनेको आफ्नै मौलिक नै हो । मौलिकता गुमाएका कुनै पनि वस्तु टिकाउ हुदैनन् । लोकमा चलनचल्तीमा रहेका, लोकले आफ्नो कथा मानेका विषय नै जिवन्त हुन्छन ।


    आधुनिक सभ्यताले गाँजेको समाजमा हामीले धेरै थरी, धेरै विषयहरु सापटी लिएका छौं । सिनेमा र संगीत पनि यसबाट अछुतो छैन । सिमाना पारी अनि समुन्द्रपारबाट धेरै कुराहरु आयात गरेका छौं । त्यसैमा मिसियर आएका छन् सिनेमाको मसला र संगीतका फ्लेवर । देख्दा कलेवर लाग्ने यस्ता वस्तुहरु व्यवसायिक स्टन्टका लागि भरपर्दो त होला तर टिकाउ हुँदैनन् । आँउछ जान्छ तर कसैलाई याद हुँदैन । नारायणगोपालले सबै खाले गीत गाएको भए, नेपथ्यले आफ्नो गीतमा लोकका भाका नउनेको भए यिनीहरु सर्वप्रिय हुदैन थिए होला ।


    बनोटको दृष्टिले सिनेमाका प्रकार अनेक हुन सक्छन् । तर दर्शकको बुझाइको दृष्टिमा सिनेमा दुइ प्रकारका हुन्छन । पहिलो, हेरुन्जेल हेर्ने अनि हलमै छोडेर जाने, विर्सने । दोस्रो, हेरिसकेपछि पनि सिनेमा र सिनेमाका पात्रलाई मनमस्तिष्क मार्फत घर सम्म लिएर जाने, सम्झिरहने । उल्लेखित प्रकार मध्य साँइली दोस्रो प्रकारको सिनेमा हो । अक्सर सिनेमाको समाप्ती दुइ प्रकारले गरिन्छ । ह्याप्पी इडिंग यानेकी सुखद अन्त्य । ट्रयाजिक इडिंग यानेकी दुखद अन्त्य । यो सिनेमामा निर्देशकले समाप्त लेखेका छैनन् न त प्रचलित इडिंग गरेका छन् । समाप्त लेख्ने जिम्मा दर्शकलाई छोडेको छ । सिनेमामा दर्शकले आफुले चाहे अनुसार समाप्त लेख्न सक्छन् । त्यसैले पनि दर्शक सिनेमाको बारेमा घोत्लिन बाध्य हुन्छन् । हलबाट घरसम्म लिएर जान रुचाउछन् ।


    सिनेमाको कथासार सामान्य छ । मुनामदनकाल भन्दा अघिदेखि आजसम्म उस्तै रहेको बैदेशिक रोजगारीको बाध्यतालाई सिनेमाले बोकेको छ । साहू, ऋण र अभाव आजको समाजको पनि कथा हो । यिनै कथामा जेलिएका पात्रहरुको प्रस्तुतीले सिनेमा भरिलो बनेको छ । पात्रमा दर्शकले आफुलाई चित्रण नगर्ला । तर समाजको प्रष्ट चित्रणको आभास भने पक्कै गर्नेछ । सिनेमामा प्रेम छ । समर्पण छ । ह्युमर छ । पिडा छ । यथार्थ छ । गाउँका अल्लारे दुइ ठिटाहरु पिताम्बर थापा (गौरब पहारी) र बिरे (दयाहाङ्ग राइ) को दोस्तीको पनि कथा हो यो । गरिबीको चपेटामा निस्सासिएर साहुसँग ऋण काढेर गर्जो टार्नुपर्ने समस्या र त्यो समस्याबाट उन्मुक्ति पाउन विदेश भासिनु पर्ने बाध्यताको यथार्थ प्रतिविम्ब पनि हो सिनेमा । साँइली यहि विषयमा फरक कोणबाट प्रस्तुत गरिएको सिनेमा हो । साँइलीको कथाको केन्द्रमा साँइली नै छ । अर्थात मेनुका प्रधान । उनको अभिनयलाई कसि लगाउन पर्दैन त्यसैले साँइलीको स्थानमा उनी बाहेक अन्य कलाकारलाई राखेर कल्पना गर्न पनि सकिन्न । अघिल्ला चलचित्रहरुमा झैं यसमा पनि उनी चरित्रमा मज्जाले डुबेका छन् । भिजेका छन् । गौरब पहारीको यो अहिले सम्मकै सम्झन लायक सिनेमा हो । उनको आवाज र अभिनयको ओजले सफल अभिनेता पिता टिका पहारीलाई याद गराउँछ । दयाहाङ राई सिनेमाको खुराक हो । उनको उपस्थितीले दर्शक रमाउछन् । हास्छन् । माओत्से गुरुङ र प्रकाश घिमिरेको अभिनय तिख्खर छ । केनिपा र अरुणा कार्की पनि प्रभावशाली छन् ।


    यो सिनेमाको नाम गीतकोको बोलबाट लिइएको हो । गायक हेमन्त रानाले २ वर्ष अघि गाएको सुन साँइली गीतबाट सिनेमाको नाम साँइली जुरेको हो । लोकप्रिय गीतको बोलबाट सिनेमा बनाउने बन्ने क्रम भारत तिर पनि छ, प्रभाव नेपालमा पनि छ । तर सिनेमाले गीतको लोकप्रियतालाई बचाउन नसकेको कैयौं उदाहरणहरु छन् । साँइली अपबाद मध्यको एक सिनेमा हो । यसले गीतको लोकप्रियता सँगै गीतको भावलाई फरक कोणबाट प्रष्ट्याउन खोजेको छ ।


    सिनेमाले स–साना विम्वलाई कलात्मक रुपमा प्रस्तुत गरेको छ । साँइलीको मुनामदन प्रतिको लगाव, उपहारको घडी, घुम्ती टोलीले नागरिकता बनाउदा उमेर फरक परेको प्रसङ्ग यादमा नआए पनि गहकिला छन् । सिनेमाले नेपाली माटोको सुगन्ध बोकेको छ । त्यसैले यो अर्गानिक सिनेमा हो । यसका वावजुद सिनेमामा केही कमजोरीहरु पनि छन् । तर ती कमजोरीहरुलाई सिनेमाको वजनले थिचेको छ । यदि तपाई यो सिनेमा हेर्न जाने कि नजाने भनेर दोमन गर्नुभएको छ भने तपाइ गल्ति गर्दै हुनुहुन्छ । साँइलीलाई हेर्नुपर्ने सिनेमाको लिस्टमा राख्नुस । समय र पैसा दुवैको सदुपयोग हुन्छ ।

    रेटिङ : ४/५

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।