• प्याज भान्साका लागि प्याज अनिवार्य तत्व होइन, कति हुनुपर्छ प्याजको मूल्य ?

    December 1, 2019     11:06 pm

    सामाजिक सञ्जाल/मिडियामा प्याज आ’तंक फैलिएपछि धेरैले थाहा पाए, हाम्रो भान्सामा आइपुग्ने प्याज भारतको माटोमा उत्पादन हुँदो रहेछ । वर्षेनी ६ अर्बको त हामीले भारतबाट नै प्याज खरिद गरिरहेका रहेछौं । यसको सोझो अर्थ के भने नेपालीको भान्सामा जति प्याज खपत हुन्छ, त्यतिका प्याज उत्पादन हामीसँग रहेनछ । भारतले प्याज निर्यात गर्ने बाटो साँघुरो बनाइदिएपछि हाम्रो बजारमा प्याज फोबिया सुरु भएको हो । अहिले सामाजिक सञ्जालदेखि कतिपय मिडिया ‘प्याजमय’ बनेको छ । यस्तो लाग्छ, प्याजको मूल्य छुनै नसकिने छ । एक केजी प्याज किन्नुपर्दा घरखेत नै जाने अवस्था छ ।

    जबकी हाम्रो भान्साका लागि प्याज अनिवार्य तत्व होइन । नुन र बेसार जति अनिवार्य पनि होइन । सागपातमा त प्याज प्रयोग गर्न आवश्यक नै छैन । मासु, दाल, गेडागुडी वा अन्य तरकारीमा प्याज प्रयोग गरिन्छ । यसमा पनि प्याज नराख्दैमा त्यो बेस्वादको हुने होइन । प्याजले मासु वा तरकारीको स्वाद उधुमै बढाउने पनि होइन । त्यसैले प्याज महंगो भनेर चिच्याइरहनुभन्दा राम्रो विकल्प हो सागसब्जीमा प्याजको प्रयोग नै नगर्नु ।

    त्यसो त नेपालको अधिकांश माटोमा प्याज उत्पादन गर्न सकिन्छ । महाभारत क्षेत्र प्याज उत्पादनका लागि अनुकूल मानिन्छ । जबकी पूर्वदेखि पश्चिमसम्म तन्किएको महाभारत क्षेत्रमा प्याज उत्पादन गर्न सकिन्छ । त्यति मात्र कहाँ हो र ? हामीले घरको कौसी, बगैंचा, छत, बार्दली जहाँ पनि प्याज रोपेर उत्पादन गर्न सक्छौं । प्याज कुनै दुर्लभ उपज पनि होइन, पौरख र पसिना छ भने ।अर्को महत्वपूर्ण कुरा, एक केजी प्याज उत्पादन गर्नका लागि किसानले गर्ने लगानी, श्रमको तुलनामा दुई/अढाई सय रुपैयाँ त्यति चर्को मूल्य पनि होइन ।

    तपाईं आफै एक केजी प्याज उत्पादन गरेर हेर्नुहोस् । दुई/अढाई सय रुपैयाँ मूल्य पनि कम लाग्नेछ । बिउ-बिजन राख्ने, रोप्ने, मलजल गर्ने, गोडमेल गर्ने, सिञ्चाई गर्ने । घामपानी नभनी तपाईंले प्याज रोप्नुहुन्छ । तर, मौसम प्रतिकूल भएमा तपाईंको पैसा, पसिना, पौरख सबै स्वाहा हुन्छ । यति धेरै जोखिम मोलेर तपाईं जब प्याज बजारमा फिँजाउनुहुन्छ, खरिदकर्ताहरु मोलमोलाई गर्न थाल्छन् । प्याजको मूल्य बढी भयो भनेर चर्को आवाजमा विरोध गर्छन् । अहिले सबैजना उर्लिरहेका छन्, ‘प्याजको मूल्य महंगो भयो, प्याज खानै नसकिने भयो ।’ अब उनीहरुलाई नै एउटा प्रश्न सोधौं, प्याजको उचित मूल्य कति हो ? एक केजी प्याजको मूल्य कति हुनुपर्छ ?

    प्याज आ’तंक फैलाउनेहरुसँग सम्भवतः यसको जवाफ छैन । कुनैपनि वस्तुको मूल्य कति हो भनेर  विभिन्न ईकाईमा त्यसको मापन गरिन्छ । कुनै वस्तु दुर्लभ हुन्छ र त्यसको मूल्य स्वतः बढी हुन्छ । कुनै वस्तु अपरिहार्य र अनिवार्य हुन्छ र सोही अनुसार त्यसको मूल्य तय गरिन्छ । बजारशास्त्रले भन्छ, माग बढेपछि त्यसको मूल्य बढ्छ । यता उत्पादकले कुनैपनि वस्तुको मूल्य तय गर्दा त्यसमा लागेको लागत र मुनाफा जोड्ने गर्छ । उसले कति श्रम, सीप, समय खर्च गरेको हो त्यसको लागत उत्पादित वस्तुमा जोडिन्छ । यसरी बजारमा आउने कुनैपनि कृषि उत्पादनको मूल्य किसानले गर्ने लगानीबाट निर्धारित हुनुपर्छ ।

    तर, बजार किसानको अधिनमा वा पहुँचमा छैन । त्यसैले बजारमा कृषि उपजको मूल्य चर्किरहँदा त्यसबाट किसान लाभान्वित हुँदैनन् । यसमा विचौलियाले द्रव्यलाभ लिन्छन् । किसानको पसिना लुट्ने र उपभोक्ताको खल्ती रित्याउने नै बिचौलिया हुन् । एकातिर बिचौलियालाई आश्रय दिने हाम्रो संयन्त्रले उपभोक्ताको ढाड सेकेको छ, अर्कोतिर किसानलाई गरिबको-गरिब बनाइदिएको छ ।

    केही समयअघि दुधको मूल्य बढ्यो । प्लाष्टिकको पोकामा उपलब्ध दुधदेखि डेरीको दुधसम्मको मूल्यमा बढोत्तरी भयो । त्यससँगै दही, मोही, पनिरको मूल्य स्वतः बढ्यो । तर, गाउँमा गएर कुनै गाईपालक किसानलाई सोध्नुहोस् । उनले बेच्ने दुधमा आंशिक मात्र मूल्य बढेको छ । एक लिटर प्रशोधित पानीभन्दा कम मूल्यमा उनीहरुले दुध बेचिरहेका छन् । उपभोक्ताबाट असुल्ने पैसा कहाँ गयो त ? जवाफ हो, बिचौलियाको खल्तीमा ।

    एकातिर बिचौलियाको लुट, अर्कोतिर लगानी र सुरक्षा अभाव । यसले पनि किसानको नाडी गलाएको छ । कृषि उत्पादन फस्टाएको छैन । प्याज मात्र हामीले वर्षमा ६ अर्बको किन्नुपर्छ भनेपछि हामी कृषि उत्पादनमा कति कमजोर छौ भन्ने कुरा आँकलन गर्न सकिन्छ । हामीसँग कृषि उत्पादनका लागि जग्गा-जमिन नभएको होइन । जाँगर नभएको होइन । श्रम र सीप नभएको होइन । तर, न लगानीको स्रोत छ न बजारको सुरक्षा छ ।

    कृषि कर्म गर्ने योजना बनाएर तपाईं जब लगानी खोज्दै बैंक वा वित्तीय संस्थामा धाउनुहुन्छ, तपाईंलाई साढे सातको दशा लागे झैँ बैंकका कर्मचारीले फनफनी घुमाइदिन्छ । यता राष्ट्र बैंकले ढोङ पिट्छ, ‘कृषिमा अनिवार्य लगानी गर्नु ।’ कृषि अधिकारीहरु खोक्छन्, ‘किसानले सहुलियतमा कर्जा पाउनुपर्छ ।’ तर, तपाईं जग्गाको धनीपूर्जा बोकेर जब बैंकको ढोकामा उभिनुहुन्छ, बैंकका कर्मचारीले तपाईंलाई हकारेर, थचारेर, घुमाएर, कायल बनाइदिन्छ । बाख्रा पाल्छु भनेर, गाई र्फम खोल्छु भनेर, बेमौसमी सब्जी उत्पादन गर्छु भन्दै तपाईं लगानीका लागि बैंकमा पुग्नुहोस्, अनेक ‘प्रक्रिया’को फन्दामा पारेर तपाईंको पसिना निकाल्नेछ । नौ-नाडी गलाउनेछ ।

    न लगानीको स्रोत खुला छ, न बजारमा पहुँच छ । खेती-किसानीलाई राज्यले पुरै उपेक्षा गरेको छ । हेलाहोचो गरेको छ । यस्तो अवस्थमा धनियाँदेखि प्याजसम्म, जिरादेखि आलुसम्म भारत, चीनका किसानले उत्पादन नगरे हाम्रो भान्सामा खडेरी लाग्छ । अनि हामी कुर्लिन्छौं, फलानो सब्जीको भाउ बढ्यो ।अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।