• बङ्गलादेशी राष्ट्रपतिले नेपालको भ्रमण गर्दै, को हुन् अब्दुल हमिद ?

    November 12, 2019     12:01 pm

    काठमाडौ- छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सक्रिय सदस्य राष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले मङ्गलबारदेखि चार दिने नेपालको भ्रमण गर्दै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आउन लागेका हुन् । सन् १९४४ जनवरी १ मा जन्मिएका हमिद सन् २०१३ को अप्रिलदेखि बङ्गलादेशको १९ औँ राष्ट्रपतिका रुपमा कार्यरत रहेका छन् । सन् २००९ देखि २०१३ को अप्रिलसम्म बङ्गलादेशको माथिल्लो सदन नेशनल पार्लियामेन्टको सभामुखको रुपमा उनले आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गरेका थिए । कानूनका जानकार राष्ट्रपति हमिदले पटकपटक किशोरीगञ्ज बार एशोसिएशनको सभापतिको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । किशोरीगञ्ज जिल्लाको कमलपुरमा गाउँमा जन्मिएका राष्ट्रपति हमिदले स्नातकसम्म अध्ययन गरेका छन् ।

    सन् १९५९ मा छात्र लिगबाट राजनीति शुरु गरेका राष्ट्रपति हमिदले सन् १९७० देखि निरन्तर निर्वाचित हुने अवसर पाउँदै आएका छन् । यसबाट नै उनको लोकप्रियताको पुष्टि हुन जान्छ । पूर्वी पाकिस्तानको रुपमा परिचित बङ्गलादेशको निर्वाचनमा सन् १९७० मा उनले युवा उमेरमा नै निर्वाचित हुने अवसर प्राप्त गरे। सन् १९७३, १९८६, १९९१, १९९६, २००१ र २००९ मा भएको संसदीय निर्वाचनमा उनले लगातार आफ्नो पक्षमा जित निकाले । अवामी लिगबाट पटकपटक निर्वाचित हमिदले पछिल्लो पटक किशोरीगञ्ज निर्वाचन क्षेत्र नं ५ विजयी भए । उनले सन् १९७१ मा भएको बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि सक्रिय सहभागिता जनाएका थिए । उनलाई बङ्गलादेश स्वतन्त्र भएको अवसरमा आयोजित विशेष समारोहमा सन् २०१३ मा स्वतन्त्रता दिवस सम्मानसमेत प्रदान गरिएको छ । तीन छोरा र एक छोरीका पिता हमिदले सन् १९६४ मा रसिदा हमिदसँग विवाह गरेका थिए । संसारकै अत्याधिक घना बस्ती भएको देशको रुपमा परिचित बङ्गलादेशलाई शुरुआती चरणमा पूर्वी पाकिस्तानको रुपमा चिनिन्थ्यो । करीब १६ कडोड जनसङ्ख्या रहेको बङ्गलादेशमा इस्लाम, हिन्दू र बौद्ध धार्मिक समुदायको बसोबास छ । यहाँ ‘टाका’ नामक मुद्रा प्रचलनमा रहेको छ ।

    बङ्गलादेशले सार्क, बिमस्टेकजस्ता क्षेत्रीय सङ्गठनमार्फत भाइचाराको अभिवृद्धि तथा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफ्नो सक्रिया भूमिका निर्वाह गर्दै आएको छ । मत्स्यपालन, गार्मेन्ट, पर्यटन तथा कृषिमा संलग्न बङ्गलादेशमा चिकित्सा शिक्षाका लागि नेपाली विद्यार्थीलाई समेत अवसर प्रदान गर्दै आएको छ । पछिल्लो पटक नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापार तथा ऊर्जा आदानप्रदानको क्षेत्रमा समेत सक्रिय संयन्त्र स्थापना भएको छ । क्रिकेट खेलको ‘पावर हाउस’का समेत परिचित बङ्गलादेश लामो समुद्री तह भएकाले पनि पर्यटकीय रुपमा समेत आकर्षक गन्तव्य हो ।

    राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा पर्सी बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्नेछिन् । बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।