प्रतिनिधिसभा सदस्य एवं वरिष्ठ उद्योेगपति सूर्यबहादुर केसीले सनातन धर्ममाथि
प्रहार भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
चिउली पाचे तमु समाजको समाजघरमा जारी श्रीमद्भागवत् महापुराण महायज्ञमा
शनिबार प्रमुख अतिथिको भूमिकामा उपस्थित केसीले सो कुरा बताएका हुन् ।
उनले पश्चिमी संस्कार र संस्कृतिले विकृति ल्याएको दाबी गर्दै धर्मका नाममा
गलत प्रचार हुने गरेको पनि बताए । उनले सनातन धर्मअनुसार चले मानिस सधँै
स्वस्थ रहन सकिने पनि बताए ।
चिउली पाचे तमु समाजको आयोजनामा जारी ज्ञानमहायज्ञमा काँग्रेस नेता केसीले
१ लाख ११ हजार १ सय ११ रुपैयाँ दान घोषणासमेत गरेका छन् ।
महायज्ञको पाँचौ दिन शनिबारसम्म ४० लाख रुपैयाँ बढी संकलन भएको महायज्ञका
कार्यक्रम संचालक देवीजंग गुरुङले जानकारी दिए । उनका अनुसार शनिबारमात्रै १५
लाख रुपैयाँ संकलन भएको हो ।
सिक्लेस घर भै हाल पोखरा माछापोखरी बस्ने खिमकुमार गुरुङ ‘प्हाए आली’
समाजबाट संचालन हुने गरी जागरुकता शिक्षाको लागि ३ लाखको अक्षयकोष
स्थापना गरिदिएका छन् ।
यस्तै सिक्लेस घर भइ पोखरा पुरानोधारा बस्ने लालप्रसाद गुरुङले १ लाख १ हजार
१०, सिक्लेस धप्राङथर भइ हाल शितलादेवी निवासी सु. पदमबहादुर गुरुङले १ लाख
१ हजार १ सय १८, सिक्लेस धप्राङथर घोताने परिवार पोखराबाट संयुक्तरुपमा १
लाख ७९ हजार ४ सय ५५ रुपैयाँ शनिबार महायज्ञमा दान गरिएको छ ।
शनिबार नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, जिल्ला सभापति
कृष्ण केसी, प्रदेश सांसद विन्दु थापा, काँग्रेस नेतृ सरस्वती गुरुङ, महासमिति
सदस्य गिरीराज गौतम, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, जिल्ला सचिव सुदीपमोहन
भट्टराई, क्षेत्रीय सभापति वृजमान गुरुङ, माधव बास्तोला मधु लगायत नेताको
उपस्थिति थियो । उनीहरुले पनि आफूले सक्दो दान रकम दिए ।
पितृउद्धार र समाजको चौतर्फी विकासको लागि पोखरा १२, चापापानीस्थित
समाजघरमा जारी महायज्ञमा प्रमुख वाचक भागवताचार्य युवासन्त रोहितराज महाराज
(गुरुङ) ले कथा वाचन गरेका छन् । महायज्ञ मंगलबारसम्म चल्नेछ । महायज्ञमा
कथावाचन सहित दैनिक पूजा, भागवत् आरती, प्रसाद वितरण, लक्ष्यवर्ती प्रज्ज्वलन,
पूर्णवर्ती भइरहेको सल्लाहकार मोती गिरीले बताए ।